close

उदयपुरमा १११७ जनाले लगाए कोरोनाविरुद्धको खोप 

उदयपुरमा १११७ जनाले लगाए कोरोनाविरुद्धको खोप 

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला स्वस्थ्य कार्यालय उदयपुरले सञ्चालन गर्दै आएको पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान उदयपुरमा सकिएको छ । उदयपुर जिल्ला अस्पतालमा १४ माघदेखि सुरु भएको खोप लगाउने अभियान २६ माघसम्म जिल्लाका ८ वटै स्थानीय तहमा लगाई सकिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । 

 

पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालक तथा शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जनालाई खोप दिइएको जिल्ला स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।

 

२६ माघसम्म ४ नगर र ४ गाउँपालिकामा खोप कार्यक्रम सम्पन्न भएको हो । अस्पतालमा सदरमुकाम र त्रियुगा नगरपालिकाका स्वास्थ्यकर्मीलगायत २ सय २९ जनालाई खोप दिइएको थियो ।

 

त्यस्तै, १६ देखि १८ माघसम्म चौदण्डीगढी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा १ सय १७ जनाले खोप लगाएका छन् । बेलका नगरपालिकाको रामपुरमा १८ माघमा ८० जनाले खोप लगाएका छन् भने १९ माघमा उदयपुरगढी गाउँपालिकाका ८६ जनाले खोप लगाए । 

 

२० माघमा टारी अस्पतालमा १ सय ८४ जनाले खोप लगाउँदा २२ माघमा लिमचुङबुङ गाउँपालिकाका ६० जना र रौतामाई गाउँपालिकाका ६६ जनालाई पनि खोप दिइएको स्वास्थ्य कार्यालयले बताएको छ । २३ माघमा गाईघाटस्थित जिल्ला कारागार शाखाका २ सय १३ कैदीबन्दी र कर्मचारी, सुरक्षाकर्मीलाई खोप दिइएको जनस्वास्थ्य प्रमुख सुवेदीको भनाइ छ । 

 

खोप लगाउनेमा त्रियुगा नगरपालिकाका १ सय ५१ जनासहित जिल्लाभरका ४ सय ४२ स्वास्थ्यकर्मी छन् भने स्वास्थ्य संस्थाका कर्मचारी ३४ जनालाई दिइएको छ । यस्तै, २ सय ८४ महिला स्वास्थ्य स्वयंसेविका, ९२ सुरक्षाकर्मी र ३५ जना एम्बुलेन्स तथा शव वाहन चालकले पहिलो चरणको खोप लगाएका छन् ।

 

त्यसैगरी शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी १७ तथा कैदीबन्दी २ सय १३ छन् । 


उदयपुमा कोभिड-१९ खोप अभियान चलाउन प्रदेश सरकारले २ सय ८३ भ्याक्सिन भायल उपलब्ध गराएको थियो, जसमध्ये १ सय १० भायल खर्च भएर १ सय ७३ भायल बाँकी छ । ४ हजार सिरिन्जमध्ये १ हजार ३ सय ६० खर्च भएर २ हजार ६ सय ४० बाँकी रहेको र प्राप्त ५० सेफ्टी बक्समध्ये १६ वटा खर्च भएर ३४ वटा बक्स बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

 

प्रतिव्यक्ति खोप दिँदा शून्य दशमलव ५ मिलिलिटर औषधी दिने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेअनुसार लक्षित समूहलाई १६ वर्गमा विभाजित गरेर भ्याक्सिन दिइएको हो । पहिलो बर्गमा सरकारी तथा नीजि अस्पतालका स्वास्थ्यकर्मी परेका छन् भने दोस्रोमा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, तेस्रोमा महिला स्वास्थ्य स्वयंसेविका, चौथोमा सफाइकर्मी र पाँचौँमा एम्बुलेन्स तथा शव वाहन चालक वर्गीकृत भएका छन् ।


छैटौँ वर्गमा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी, सातौँमा वृद्धाश्रममा बस्ने व्यक्ति र हेरचाह कर्मचारी, आठौँमा कैदीबन्दी तथा सुरक्षाकर्मी, नवौँमा अन्तराष्ट्रिय प्रवेशद्वारका कर्मचारी, दसौँमा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य सरकारले बनाएको छ । 

 

त्यस्तै, एघारौँ वर्गमा ५५ देखि ७४ वर्षका नागरिक, बाह्रौँमा ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी, तेह्रौँमा वैदेशिक रोजगारबाट फर्केका व्यक्ति र शरणार्थी, चौधौँमा ४० देखि ५४ वर्षसम्मका नागरिक, पन्ध्रौँमा १८ देखि ३९ वर्षसम्मका व्यक्ति र सोह्रौँमा सर्वसाधारणलाई खोपको हकदार बनाइएको छ । 

 

स्वास्थ्य कार्यालयले दोस्रो चरणको खोप अभियान पनि छिट्टै सञ्चालन गर्ने जनाएको छ ।