close

‘चिसो मान्छे’ का लागि बाजुरेली भाषा सिक्दै छिन् नायिका स्वस्तिमा

‘चिसो मान्छे’ का लागि बाजुरेली भाषा सिक्दै छिन् नायिका स्वस्तिमा

Trulli
ADVERTISEMENT

बाजुरा- नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्का बाजुराको भाषा सिक्न यतिबेला सदरमुकाम मार्तडी आएकी छन् । ‘चिसो मान्छे’ चलचित्रमा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्नुपर्ने भएपछि यहाँको भाषा र परिवेशबारे जानकारी लिन खड्का बाजुरा आएकी हुन् ।


बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलो पटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ मा नायिका खड्काले बाजुराकी चेली भएर अभिनय गर्दै छिन् । बाजुरेली भाषा सिक्न नायिका खड्कासँगै चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको टिम बाजुरा आएको हो ।

 
नायिका खड्का र निर्देशक खनाललगायत चलचित्र निर्माण टिमले यसअघि काठमाडौंमा पत्रकार डिबी खड्का र गायिका शोभा थापासँग बाजुराको भाषा र यहाँको समग्र परिवेशबारे सामान्य जानकारी लिएको थियो ।

 

बाजुराकै भाषामा पहिलो पटक तयार हुन लागेको उक्त चलचित्रका लागि यहाँको सुटिङ स्थल, भाषा, कला र संस्कृतिबारे प्रत्यक्ष जानकारी लिन नायिका खड्कालगायतको सिंगोे टिम बाजुरा पुगेको चलचित्रका निर्देशक खनालले बताए ।

 

बाजुराको भाषा सिक्न र यहाँको परिवेशलाई प्रत्यक्ष नियाल्न पहिलो पटक बाजुरा पुगेकी नायिका खड्काले यहाँ आएपछि चलचित्रमा बाजुराकी चेली भएर अभिनय गर्न सहज हुने अनुभव सुनाइन् ।

 
बाजुरेली भाषामा निर्माण हुने यो चलचित्रमा खड्का र देशभक्त खनालको मुख्य भूमिका रहनेछ भने बाजुराका मोडल राजेश पायललगायत स्थानीयलाई चलचित्रमा अभिनय गराइने निर्देशक खनालले जानकारी दिए ।

 

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने नेपालीको कथा समेट्नेछ ।

 

‘यो चलचित्रका लागि नायिका खड्काले बाजुरेली भाषा सिकिरहनुभएको छ । सुदूरपश्चिमको भाषा, संस्कृतिको चलचित्रमा स्वस्तिमालाई बाजुरे महिलाको भूमिकामा देखिनेछ’, निर्देशक खनालले भने ।

 
शर्मिला पाण्डेको निर्माणमा तयार हुने चलचित्रको छायाकन चैत पहिलो साताबाट सुरु हुनेछ । निर्देशक खनालका अनुसार यहाँको भाषा कार्याशाला सकिएपछि चलचित्रका लागि अभिनयको कार्याशाला चलाइनेछ ।

 

यसका लागि भने छायाकन स्थलमै गएर कार्याशाला गर्ने तयारी छ । चलचित्रलाई आउँदो वर्षको भदौमा रिलिज गर्ने तयारी निर्माताको छ ।