close

६ महिनामा जन्तेढुंगाको वित्तीय प्रगति ३० प्रतिशत 

६ महिनामा जन्तेढुंगाको वित्तीय प्रगति ३० प्रतिशत 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटको ३० प्रतिशत मात्र खर्च गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको ३४ करोड ५९ लाख ३१ हजार ८ सय २० रुपैयाँमध्ये गत साउनदेखि पुससम्म १० करोड ३७ लाख ७९ हजार ५४६ रुपैयाँ खर्च गरेको हो ।


आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको सेवा प्रवाह एवं प्रगतिका विषयमा गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइ गर्दै वित्तीय प्रगतिका विषयमा पालिकाबासीलाई जानकारी दिएको हो । 


आर्थिक वर्ष बित्न ६ महिना बाँकी रहँदा २४ करोड २९ लाख ६९ हजार २ सय ७७ रुपैयाँ मौज्दात रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले बताए । 


सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० लाख आन्तरिक आय गर्ने अनुमान गरेकामा ९ लाख २ हजार ८ सय ७५ रुपैयाँ संकलन भएको, जन्तेढुंगा रिङरोड बँसिला-फेदी-बोपुङ-काहुले-चिसापानी-सावाखोलाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संघीय सरकारसमक्ष बजेट माग गरिएको, जन्तेढुंगा, हुम्मापोखरीलगायत ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको, ६ वटै वडालाई जोड्ने सडक निर्माण गरिएको जानकारी दिएको छ ।


यस्तै, गाउँपालिकाकै स्रोतबाट स्नातक तहको चिसापानी क्याम्पस सञ्चालनमा रहेको, शिक्षक दरबन्दी नभएका विद्यालयमा गाउँपालिकाको अनुदानमा शिक्षक व्यवस्थापन गरिएको, स्वास्थ्य सेवा, ल्याब सेवा, भिडियो एक्स-रेसहितका सेवा निःशुल्क गरिएको गाउँपालिकाले जनाएको छ ।

 

नेपाल सरकारले तोकेभन्दा थप ४० प्रकारका औषधी गाउँपालिकाले खरिद गरी निःशुल्क वितरण गरिरहेको, प्रसूति र गम्भीर खालका बिरामीलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको, संघीय सरकारसँगको समन्वयमा गाउँपालिका क्षेत्रभित्र फोरजी टावर र ल्यान्डलाइन सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष शंकर राईले जानकारी दिए ।


भौतिक पूर्वाधार गाउँपालिकाले नै तयार गरी कृषि विकास बैंकको सेवा सञ्चालन गरिएको बताइएको छ । 

 

कार्यक्रममा स्थानीयले सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, पर्यटन, सञ्चार, सिँचाइ, युवा तथा खेलकुद, वन तथा वातावरण, न्याय सेवा, सुशासनलगायत शीर्षकमा गरिएको खर्चको पारदर्शितामाथि प्रश्न उठाएका थिए ।