close

चिप्रिङ स्वास्थ्य चौकी भवन उद्घाटन

चिप्रिङ स्वास्थ्य चौकी भवन उद्घाटन

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ५ चिप्रिङस्थित स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ भवन ओखलढुंगाको अनुदानमा निर्माण गरिएको १० कोठे भएको २ तले भूकम्प प्रतिरोधी भवन उद्घाटन गरिएको हो । 


पुनर्निर्माण अभियानअन्तर्गत प्राधिकरणको १ करोड ८२ लाख रुपैयाँमा आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु गरेर २०७७/७८ मा सम्पन्न गरिएको स्वास्थ्य चौकी भवन सोमबार खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरे ।


२०७२ को भूकम्पका कारण क्षतविक्षत भएका विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी एवं निजी आवास पुनर्निर्माण अभियानअन्तर्गत चिप्रिङ स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । 


पुष्पाञ्जली कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण गरेको स्वास्थ्य चौकी भवन प्राधिकरणले उद्घाटनसँगै वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । १ करोड ८९ लाख रुपैयाँमा २ चैत २०७४ मा टेन्डर खुलाइएकामा निर्माण कम्पनीले ३.७८ प्रतिशतमा ठेक्का पारेको थियो ।


स्वास्थ्य चौकी भवन निर्माणका लागि पुष्पाञ्जली कन्ट्रक्सनले १ असोज २०७५ मा प्राधिकरणसँग सम्झौता गरेको थियो । गत २०७७ मंसिरमा सम्पन्न गर्नुपर्ने भवनको काम कोभिड-१९ महामारीका कारण माघमा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि देवकुमार विकले बताए । 


भुइँ तलामा बनाइएका ७ कोठा सेवा प्रवाहका लागि तथा माथिल्लो तलाका ३ कोठा स्वास्थ्यकर्मीको आवासीय प्रयोजनका लागि उपयोग गरिने गाउँपालिकाले जनाएको छ । अपांगमैत्री शौचालयसहितको भवन निर्माण गरिएको हो ।


स्वास्थ्य चौकीको पक्की भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्य इन्चार्ज रेनुशा राइले बताइन् । स्वास्थ्य चौकी भवन उद्घाटन अवसरमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ भवन ओखलढुंगाका डीई अर्जुन तामाङ, खोटाङ बजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल, इन्द्रेणी पोखरीका वडाध्यक्ष देविन्द्र राई, इन्जिनियर सुशील चौधरीलागायत सहभागी थिए ।


यससँगै खोटेहाङका ९ मध्ये ७ वटा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भएका छन् । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखा स्वास्थ्यचौकीको भवन निर्माणका लागि पुष्पाञ्जली कन्स्ट्रक्सन प्रािीले ठेक्का पारिसकेको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चेमा मात्र स्वास्थ्य चौकीको नयाँ भवन बन्न बाँकी छ ।