close

फोक्सिङटार पुल निर्माणमा चरम लापरवाही

ठेकेदार खोज्दै काठमाडौं पुगे गाउँपालिका अध्यक्ष 

फोक्सिङटार पुल निर्माणमा चरम लापरवाही

ठेकेदार खोज्दै काठमाडौं पुगे गाउँपालिका अध्यक्ष 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएका छन् । 


खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले चासो देखाएका हुन् ।

 

गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको ‘आर्क ब्रिज’ निर्माणमा ढिलासुस्ती भएको जनगुनासो आएपछि गत २४ माघमा स्थलगत निरीक्षण गरेका गाउँपालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठमाडौं पुगेका छन् ।

 

दिक्तेलबाट दिप्रुङ चुइचुम्मा हुँदै उदयपुर पुग्ने गाईघाट-दिक्तेल सडक खण्डमा पर्ने तथा खोटाङलाई पूर्वी सहरसँग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउनु परेको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

पुल निर्माणलाई अघि बढाउन दबाब दिने उद्देश्यले गाउँपालिका अध्यक्ष राईले सोमबार सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का डीई कैलाश साह र निर्माण व्यवसायी रामकुमार थापालाई एकै ठाउँ भेला गराएर छलफल गरे ।

 

छलफलमा निर्माण व्यवसायी थापाले आगामी १० फागुनभित्र बिम र स्ल्याब ढलान गर्ने, वर्षायाम सुरु भएपछि बेलीब्रिज हटाइए पनि तुइन लगाएर पुल निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको अध्यक्ष राईले बताए ।

 

‘खोटाङेको सुख र समृद्धि यो फोक्सिङटारको पुलले रोकेको छ । हामीलाई प्राकृतिक नाकाबन्दी लगाउने यही सुनकोसी हो । यो गतिको पुल निर्माणले अझै खोटाङबासीले दुःखमा बस्नु पर्ने देखिएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसैले सम्बन्धित निर्माण कम्पनी र ठेक्का खुलाउने कार्यालयले यो पुल छिटो निर्माण गरुन् ।’

 

गाउँपालिका अध्यक्ष राईकै कारण पुलसँग सम्बधित डीई र निर्माण व्यवसायीबीच झन्डै १० महिनापछि भेट भएको हो । पुल निर्माणमा आगामी दिनमा निरन्तर दबाब दिइने अध्यक्ष राईको भनाइ छ । उनका अनुसार पुलको बाँकी कामका विषयमा सडक विभागमै छलफलको तयारी भइरहेको छ ।

 

कोभिड–१९ महामारीका कारण काममा अवरोध पुगेको भन्दै जोगिएका निर्माण व्यवसायीले महामारी सामान्य बनिसक्दासमेत कामलाई सन्तोषजनक गति दिन सकेका छैनन् । 

 

भेटमा डीई साहले लकडाउन अगाडिदेखि निर्माण व्यवसायी थापा सम्पर्कमा नरहेको बताएको अध्यक्ष राईले जानकारी दिए । 

 

खोटाङलाई पूर्वी सहरसँग जोड्ने पुलको पहिलोपल्ट थप भएको म्याद १३ पुसमै सकिइसकेको छ । सार्वजनिक खरिद (नवौँ संशोधन) नियमावलीअन्तर्गत यो पुलको पहिलोपल्ट म्याद थपिको थियो । कोभिड–१९ महामारीका कारण पुल निर्माण अवधि ६ महिना थप हुनेछ ।

 
ढिलासुस्तीको चौतर्फी विरोध 

 

करिब १९ करोड ६० लाख रुपैयाँमा पूरा गर्ने गरी गौरी पार्वती वाइपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति सुस्त छ । २३ चैत २०६९ मा ठेक्का लागे पनि २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरेर काम थालिएको पुलको म्याद गत २०७५ चैतमै सकिएको थियो ।

 

पुल निर्माणमा ढिलासुस्ती भएकामा जिल्लाबासी असन्तुष्ट छन् । मुग्लिनको आर्क पुलको शैलीमा निर्माण हुने पुलमा भएको ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको आलोचना हुने गरेको छ । 

 

पुल निर्माणमा ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा निवर्तमान सदस्य विशाल भट्टराईले गृहमन्त्री रामबहादुर थापासमक्ष ५ कात्तिक २०७५ मा ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए । 

 

सुरुमा २४ चैत २०७३ सम्म पूरा गर्ने गरी फोक्सिङटारमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि २३ चैत २०६९ मा ठेक्का लागेको थियो । तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्न २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङटार खोटाङ र पूर्वी सहर सहर जोड्ने प्रमुख नाका हो । 


फोक्सिङटारको भौगोलिक अप्ठेरोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणमा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनमा बनाउन सुरु गरिएको थियो । दोस्रो पटक डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । 

 

हाल ढिलासुस्तीकै कारण सोही डिजाइन परिवर्तन र स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरिएको छ । तर, पुलको नयाँ डिजाइन स्वीकृत भएयता पनि ठेकेदारको ढिलासुस्ती देखिएको स्थानीय बताउँछन् । बाढीका कारण पुलको काम हरेक वर्षायाममा ठप्प हुने गरेको छ । 


ठेक्का लागेको लामो समय बित्दासमेत फोक्सिङटार पुललगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक-पटक विरोध गर्दै आएका छन् । ढिलासुस्तीविरुद्ध २४ माघ २०७२ मा सडक विभागमा धर्ना दिएका जिल्लाबासीले २३ चैतमा कार्यालय नै घेराउ गरेका थिए ।

 

सडक विभाग घेराउका क्रममा सांसद, नेता र जिल्लाबासीमाथि प्रहरी हस्तक्षेपसमेत भएको थियो । २४ चैत २०७२ मा पुल र सडक चाँडो निर्माण माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर सदरमुकाम दिक्तेलमा विरोध र्‍याली निकालेको थियो । 


आफ्नै प्रतिबद्धता पूरा गर्दैनन् ठेकेदार 

 

सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणको जिम्मा लिएका ठेकेदारले पटक-पटक आफैंले गरेको प्रतिबद्धता कुल्चिँदै आएका छन् । ठेकेदार र तिनका प्रतिनिधिले २०७४ असारसम्म उदयपुरतर्फको जगको काम सक्ने आफ्नै लक्ष्यसमेत पूरा गर्न सकेनन् ।

 

यस्तै, गत १९ साउन २०७४ मा सडक विभागमा बसेको बैठकमा निर्माण व्यवसायीले २०७५ असार मसान्तसम्म पुलको सब-स्ट्रक्चर, २ वटा टी–ग्रिडर ब्रिज स्ल्याब र आर्कका लागि आवश्यक अस्थायी फ्रेमवर्क जडान गरिसक्ने प्रतिबद्धता जनाएको थिए । त्यो प्रतिबद्धताअनुसारको काममा पनि ठेकेदार चुकेका छन् । 

 

फोक्सिङटारको पुल निर्माणमा भएको ढिलासुस्तीका विषयमा सडक विभागमा १२ माघ २०७४ मा बोलाइएको बैठकमा पनि ठेकेदारले महिना दिनभित्र ‘देखिने’ प्रगति हुने प्रतिबद्धता जनाएका थिए ।

 

पुल निर्माणमा ढिलासुस्ती भएपछि बोलाइएको बैठकमा निर्माण प्रगति शून्य देखिएको भन्दै २०७५ चैत मसान्तसम्म काम पूरा गर्ने गरी साता दिनभित्र कार्यतालिका तयार पारेर पेस गर्न ठेकेदारलाई निर्देशन नै दिइएको थियो । 


ढिलासुस्तीमा अख्तियारको चासो 

 

फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ ।

 

ठेक्का लागेको वर्षौंसम्म पुल निर्माणको प्रगति शून्य देखिएपछि अख्तियारले चासो देखाएको हो ।

 

पुल निर्माणमा ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र काम पूरा गर्ने गरी अघि बढ्न अख्तियारले २ माघ २०७४ मा पत्राचार गरेको थियो ।