close

जन्तेढुंगामा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र 

जन्तेढुंगामा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकामा चौथो सामुदायिक स्वास्थ्य इकाइ केन्द्र विस्तार गरिएको छ । जन्तेढुंगा गाउँपालिका वडा नम्बर ४ डम्बर्खुशिवालयको बाम्राङमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको हो ।

 

सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाइ केन्द्र मंगलबार गाउँपालिका उपाध्यक्ष विमला राईले उद्घाटन गरिन् ।

 

औषधीसहित १ जना अहेब र १ जना अनमी व्यवस्था गरेर डम्बर्खुशिवालयको बाम्राङमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको हो । 

 

स्वास्थ्य सेवाका लागि आधा घन्टा बढी समय हिँड्न बाध्य सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य चौकीसरहको सेवा प्रवाह गर्ने गरी सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरिएको डम्बर्खुशिवालयका वडाध्यक्ष विदुरमान राईले बताए । 


दूरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै यसअघि जन्तेढुंगा वडा नम्बर २ बोपुङको डुम्रेबोटे, वडा नम्बर १ देवीस्थानको सिक्किमटार र जन्तेढुंगा वडा नम्बर चिसापानीको खुटाछिरुवाघारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना भइसकेका छन् ।

 

सामान्य स्वास्थ्य सेवाका लागि घन्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी क्रमशः अन्य वडामा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र विस्तार गर्दै जाने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । 

 

जन्तेढुंगा वडा नम्बर ४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर पनि स्थापना गरिएको छ । गाउँपालिकाकै दोस्रो बर्थिङ सेन्टरबाट गत १४ पुसदेखि सेवा सुरु भएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।