close

नमुना सडक आयोजनाको गुणस्तरहीन सिमेण्ट फिर्ता लैजान पालिकाको निर्देशन

नमुना सडक आयोजनाको गुणस्तरहीन सिमेण्ट फिर्ता लैजान पालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिकाले सम्झौता अघि नै निर्माणस्थलमा लगेको तोकिएको भन्दा फरक किसिमको निर्माण सामग्री फिर्ता गर्न ठेकेदारलाई निर्देशन दिएको छ । 

 

वडा न. ३ र ४ मा पर्ने बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौर जोड्ने नमुना सडक आयोजनाका ठेकेदार देव एण्ड सायर-तिलक जेभीले तोकिएको भन्दा फरक गुणस्तरको सिमेन्ट लगेर सम्झौता अघि नै भण्डारण गरेको बिषयमा पालिकाखबरमा मंगलबार समाचार सार्वजनिक भएको थियो । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले निर्माण कम्पनीका प्रतिनिधिलाई पिपिसी सिमेन्ट फिर्ता गरेर डिजाइन र लागत अनुमान तथा सम्झौतामा उल्लेख भए अनुसार ओपिसी सिमेन्ट प्रयोग गर्न निर्देशन दिएको बताए । बुधबारसम्म सिमेन्ट फिर्ता गर्ने ठेकेदारले प्रतिवद्धता जनाएका छन् । 


‘हिजो सम्झौता गरेको कम्पनीले काम पनि सुरु गरिसकेको छ,’ उनले बुधबार भने, ‘सम्झौतामा उल्लेख भएको भन्दा फरक किसिमको पिपिसी सिमेन्ट फिर्ता गरेर ओपिसी प्रयोग गर्न निर्देशन दिएका छौं ।’ तीन करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको भ्याट सहित २ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । 


आगामी असार महिनाभित्र आयोजना निर्माण गरिसक्ने लक्ष्य छ । ठेकेदारले केही दिन अघि ज्यामिरेमा अग्नी ब्राण्डको ३ सय बोरा पिपिसी र ५० बोरा ओपिसी सिमेन्ट लगेर भण्डारण गरेका थिए । प्रशासकीय अधिकृत ढुङ्गानाले सम्झौता नहुदै लगिएको निर्माण सामग्रीको बिषयमा प्रतिक्रिया दिँदा अलमल भएपनि सम्झौता भएपछि प्राविधिकसँग बुझेर आवश्यक कदम चालेको बताए । 


गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले श्रीमती बिरामी भएर आफु पोखरा भएको समयमा सम्झौता नहुदै ठेकेदारले बदमासी गर्न खोजेको समाचार सार्वजनिक भएपछि कर्मचारी र प्राविधिकहरुलाई स्थलगत निरीक्षण गर्न निर्देशन दिएको बताए । 


‘ठेकेदारको बदमासीमा हामी पदाधिकारीलाई मुछिएकोमा आपत्ति छ,’ अध्यक्ष रोकाले भने, ‘विकास आयोजनालाई समयमै गुणस्तरीय हिसाबले सम्पन्न गराउनुपर्छ भनेर लाग्दा आफँै ठेकेदारको तारो बन्नुपरेको अवस्थामा ठेकेदारसँग मिलेको भन्ने आरोप लगाइदा दुःख लागेको छ ।’

 

तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले छोटो अवधिमा काम सक्नुपर्ने भएकाले सम्झौताको प्रक्रियासँगै निर्माण सामग्री जुटाउने क्रममा सिमेन्ट लगेर भण्डारण गरेको प्रतिक्रिया दिए ।

 

‘पिपिसी सिमेन्ट ढलानका लागि नभएर मेसिनरी पर्खाल निर्माणका लागि लगिएको हो,’ खड्काले भने, ‘गाउँपालिकाले तोकेको र हामीले कबोलेको गुणस्तरको निर्माण सामग्रीको प्रयोग गर्न प्रतिवद्ध छाैँ ।’

 

खड्काले ज्यामीरेमा मेसिनरी पर्खाल लगाउने बताएपनि सो क्षेत्रमा गत वर्षकै ठेक्काबाट ग्याबियन पर्खाल र नाली निर्माण भएको छ । यस वर्ष सडक ढलान गर्ने डिजाइन गरिएको ठाउँमा किन पिपिसी सिमेन्ट लगेर राखे ? भन्ने प्रश्न उठेको थियो । 

 

ढलानमा ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्नेमा पिपिसी सिमेन्ट प्रयोग गर्न लागिएको भन्दै स्थानीयबासीले विरोध गरेका थिए । प्राविधिकहरुका अनुसार ढिलो सेट हुने पिपिसी सिमेन्ट छिटो जम्ने र बढी मूल्य पर्ने ओपिसी सिमेन्ट भन्दा सस्तो पर्छ । हाल म्याग्दीको बजारमा पिपिसी र ओपिसीको मूल्यमा प्रतिबोरा १ सय १० रुपैयाँ अन्तर छ । 

 

राष्ट्रिय योजना आयोगसँगको साझेदारीमा गाउँपालिकाले २०७५ सालमा ट्याक खोलेको पोक-सातबिसे-ज्यामिरे-तोरीडाँडा-खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया सम्मको पहिलो खण्डको स्तरोन्नति कार्य हालै सकिएको छ ।  

 

साबिक बरंजा गाविसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।