close

राप्तीसोनारी गाउँपालिकाको आठौँ गाउँसभा, पूर्ण खोप पालिका घोषणा

राप्तीसोनारी गाउँपालिकाको आठौँ गाउँसभा, पूर्ण खोप पालिका घोषणा

Trulli
ADVERTISEMENT

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न छ । २४ पुसमा सुरु भएको गाउँसभा ९ वटा विधेयक र ऐन पारित गर्दै सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँसभामा १० वटा विधेयक र ऐनलाई अगाडि सार्दै कार्यसूची प्रस्तुत गरेका थिए ।


गाउँसभाले कृषि विकास, संस्था दर्ता, तथ्यांक तथा अभिलेखन, स्थानीय स्वास्थ्य तथा सरसफाइ, स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, स्थानीय तहको औद्योगिक व्यवसाय प्रवर्द्धन, विपद् जोखिम न्यूनीकरण, स्थानीय शिक्षा ऐन र स्थानीय वन ऐन, २०७७ पारित गरेको छ । 

 

कार्यसूचीमा रहेको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित विधेयकलाई हटाइएको छ ।

 

गाउँसभामा प्रस्तुत विधेयक र ऐनलाई विस्तृत छलफलका लागि वडा कार्यालयमा पठाइएको थियो । प्रस्तुत विधेयक र ऐनलाई पालिकामा बनाइएका विषयगत समिति, विधान समिति हुँदै कार्यपालिकाको बोर्ड बैठकमा छलफल गरेर गाउँसभाबाट पास गरिएको छ ।


राप्तीसोनारीले पहिले नै ३३ वटा ऐन, २० वटा नियमावली र १२ वटा कार्यविधि बनाइसकेको थियो ।

 

गाउँसभाले गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको छ । गाउँपालिका कार्यालयमा गत सोमबार कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

 

जिल्ला समन्वय समिति संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष थारुले पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेका थिए । 

 

पालिकामा १६ देखि २३ महिनाका ९ सय ३७ बच्चा छन् । तीमध्ये ८ सय ५६ जनालाई खोप दिइसकिएको छ भने ८१ जना बच्चा खोपबाट वञ्चित थिए । 

 

पूर्ण खोपको अभियानमा छुटेका बच्चालाई समेटिएको स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद चुदालीले जानकारी दिए । उनका अनुसार राप्तीसोनारीले खोपमा मात्रै ४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।