close

हवाई सेवाले जोडिँदै पर्यटकीय नगरी र औद्योगिक सहर

हवाई सेवाले जोडिँदै पर्यटकीय नगरी र औद्योगिक सहर

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको पोखरा पर्यटकीय राजधानी । सिमरा औद्योगिक नगरी । पोखरा महानगरदेखि जीतपुर सिमरा उपमहानगर अब हवाई रुटबाट जोडिने भएका छन् ।

 

पर्यटन र उद्योगको फ्युजन गराउन यो रुटमा उडान गर्न लागिएको हो । ‘हामीसँग पर्यटकीय सम्भावना छ । उता पर्यटक आउने नाका छ’, पोखरा महानगरप्रमुख मानबहादुर जिसीले भने, ‘सिमरा व्यापारको हब पनि हो । २ नगरको मिलनले दुवैलाई फाइदा पुग्छ ।’

 

जीतपुर सिमरा उपमहानगर नगरप्रमुख कृष्ण पौडेलले पोखरासँग सम्बन्ध गाँस्दा पर्सा राष्ट्रिय निकुन्जसहित अन्य पर्यटकीय गन्तव्यमा पर्यटकको पाइला पुग्ने बताए । ‘पर्सालाई कसैले देखेन । अब पोखरासँग मिलेर यसको उजागर गर्नुपर्छ’, उनले भने, ‘हवाई रुट अनिवार्य भइसक्यो । छिटो सुरु गर्नुपर्छ ।’ 

 

पोखरामा भएको भेलाले आउँदो १५ चैतदेखि पोखरा-सिमरा उडान सुरु गर्ने निर्णय गरेको हो । यती एयरलाइन्सको २९ सिटे जहाजमार्फत २ नगरलाई जोड्न लागिएको हो । 

 

भारतीय पर्यटकलाई पोखरा ल्याउन यो उडान बढी महत्त्वपूर्ण हुने गण्डकीका पर्यटनमन्त्री विकास लम्सालले बताए । ‘पोखरा धेरै भारतीय पर्यटक आउने ठाउँ हो । बाटो राम्रो छैन । उहाँहरूलाई हतार पनि हुन्छ’, उनले भने, ‘त्यसैले हवाई रुट जोड्न लागेका हौँ ।’

 

गण्डकी प्रदेशले यही वर्षभित्र देशका ७ वटै प्रदेशमा पोखराको हवाई रुट विस्तार गर्ने जनाएको छ । हालसम्म संघीय राजधानी काठमाडाैंसहित बागमती प्रदेशको भरतपुर, प्रदेश १ को विराटनगर र लुम्बिनीको भैरहवामा उडान भइरहेको छ । हवाई कनेक्सनले पोखराको पर्यटन क्षेत्र गुल्जार हुने उनको विश्वास छ । 


सिमराका व्यवसायी र जनप्रतिनिधिले धेरै पहिलेदेखि यो रुटमा उडानका लागि आग्रह गरे पनि अहिलेसम्म हुन सकेन । धेरै पटक आग्रह गर्दा पनि पोखरा तयार नभएको जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले बताए ।

 

‘९ करोड जनसंख्याको बिहारका अधिकांश नागरिक रक्सौलबाट आउँछन् । कतिपय समय अभावले पोखरा आउनै भ्याउँदैनन्’, उनले भने, ‘हामी पोखरालाई व्यापार र पैसा दिन चाहन्छौं । त्यसको तयारी पोखराले गर्नुपर्छ ।’ 

 

पोखराबाट सिमरा पुग्न ४ घन्टाको मोटरयात्रा गर्नुपर्छ । हवाई उडान ३० मिनेटको हुनेछ । नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले नियमित उडानका लागि अहिले नै ध्यान दिन सुझाए । 

 

यती एयरलाइन्स यो रुटमा जहाज उडाउन सहमत भएको छ । यहाँ एकतर्फी भाडा ४ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान गर्ने योजना रहेको यती एयरलाइन्सका वरिष्ठ निर्देशक सरलशमशेर जबराले जानकारी दिए ।