close

त्रियुगाको कृषि कर्मः सहुलियतको ऋण, कृषकको सीप (भिडियाे खबर)

त्रियुगाको कृषि कर्मः सहुलियतको ऋण, कृषकको सीप (भिडियाे खबर)

ADVERTISEMENT

उदयपुर- स्थानीय सरकार सञ्चालन ऐनका अनुसार स्थानीयसँग जोडिएका विषयमा नीति निर्माण गर्ने, ऐन कार्यान्वयन गराउने जिम्मा स्थानीय तहसँग छ । त्यसमाथि पनि विभिन्न योजना छनोट गर्दै त्यसमा बजेट विनियोजन र अनुदान दिने अधिकार पनि स्थानीय तहसँग छ ।

 

यसैलाई लक्षित गरेर स्थानीय सरकारले पनि पछिल्लो समय आफ्नो योजनामा कृषिलाई प्राथमिकतामा राखेका छन् । हरेक पालिकामा कृषकको उपस्थिति हुने हुँदा उनीहरूलाई नै लक्षित गर्दै ऋण, ब्याज र अनुदान दिँदा कृषक कृषि कर्ममा पनि हौसिन थालेका छन् । यसको ज्वलन्त उदाहरण हो, उदयपुरको त्रियुगा नगरपालिका । 


त्रियुगा नगरपालिकाले समृद्ध नगर निर्माणको पहिलो आधार कृषि भएकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । नगरपालिकाले कृषि मिटर, मल, बिउ, सिंचाइ तथा कृषि योजनासमेत बनाइदिने गरेको छ । नगरपालिकाको कृषि शाखामा दर्ता गरि सकेपछि एकीकृत योजना बनाएर बैंकसँग समन्वय गरेर ऋण उपलब्ध गराउने तयारीमा नगरपालिका जुटेको छ ।

 

त्यसका लागि छुट्टै निति बनाउने नगरको तयारी छ । नीति बनेपछि व्यक्ति वा समूहले नै ऋण लिन सक्ने त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी बताउँछन् ।

 

त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्बर  ११ ले  पनि नगरको प्राथमिकतामा कृषि रहेकाले सहयोग गर्न तयार रहेको जनाएको छ । नगरपालिकाले अर्गानिक उत्पादनमा जोड दिँदै आएको छ । अर्गानिक उत्पादन गर्न सके त्यसका लागि आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको नगरपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष विश्वराज भट्टराईले जानकारी दिए ।


२०७१ मा स्थापना भएको बरुवाटार कृषक समूहमा आबद्ध २० जना कृषकलाई नगरपालिकाले मल चिङ २० थान, टनेल १९ थान र ४ थान स्प्रे ट्यांकी हस्तान्तरण गरेको छ । नगरपालिकाको वडा नम्बर ११ बरुवाटार कृषक समूहका संस्थापक अध्यक्ष लक्ष्मीकुमार कार्की परम्परागत खेती प्रणाली अपनाउँदै आएका किसानलाई नयाँ प्रविधिले खेती गर्न सजिलो र उत्पादनमा वृद्धि हुने गरेको बताउँछन् ।

 

वडा कार्यालयले ३ लाख रुपैयाँ बराबरको कृषि सामग्री उपलब्ध गराएको टनेलबाट १० कठ्ठामा बेमौसमी खेती गर्ने तयारी भइरहेको बरुवाटार कृषक समूहमा आबद्ध कृषक गीता कार्कीले बताइन् ।