close

त्रिपुरासुन्दरीका विद्यालयहरू सञ्चालनमा

त्रिपुरासुन्दरीका विद्यालयहरू सञ्चालनमा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक - कोरोना महामारीका कारण गत चैत पहिलो सातादेखि बन्द रहेका सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरू सञ्चालन भएका छन् ।


विद्यालय सञ्चालन भएको पहिलो दिन सबै सामुदायिक विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई स्वास्थ्यसम्बन्धी सचेतना दिएर नियमित पठनपाठन सुरु गरिएको हो । लामो समय विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक असर परेको भन्दै गाउँपालिकाले नै निर्णय गरेर विद्यालय सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए ।


गाउँपालिकाभित्रका सबै वडामा रहेका विद्यालय सञ्चालन भएसँगै अभिभावकसमेत खुसी भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । विद्यालय सञ्चालन गर्नुअघि सबै सामुदायिक विद्यालयका शिक्षक, अभिभावकसँग छलफल गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘हामीले सबै स्थानका शैक्षिक संस्थामा स्वास्थ्य सावधानी अपनाएर अध्यापन सुरु गरेका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘शिक्षक, विद्यार्थीलाई गाउँपालिकाले नै स्वास्थ्य सामग्री दिएको छ ।’


शिक्षण सिकाइलाई सहज बनाउन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको समेत अध्यक्ष श्रेष्ठले बताए  । सरोकारवालाको बैठकले कोभिड–१९ बाट बच्नका लागि आवश्यक सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गाउँपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन गर्न आग्रह गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम घिमिरेले जानकारी दिए । 


अहिले त्रिपुरासुन्दरी गाउँपालिकाभित्र ६ मावि ८ कक्षासम्म पठनपाठन हुने ५ र आधारभूत तहका १८ विद्यालय सञ्चालनमा छन् ।  लकडाउनको अवधिमा पनि त्रिपुरासुन्दरी गाउँपालिकाका धेरै विद्यालयका शिक्षक टोलटोलमै गएर विद्यार्थी सिकाइलाई सहजीकरण गरेका थिए ।