close

रावाबेँसीमा खुल्यो पाँचौँ बर्थिङ सेन्टर 

रावाबेँसीमा खुल्यो पाँचौँ बर्थिङ सेन्टर 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकामा पाँचौँ बर्थिङ सेन्टर स्थापना गरिएको छ । रावाबेँसी गाउँपालिका वडा नम्बर ४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर बर्थिङ सेवा सुरु गरिएको हो ।

 

वनहर्ट वल्डवाइड नामक संस्था र गाउँपालिकाको सहकार्यमा भवन निर्माण गरेर स्थापना गरिएको बर्थिङ सेन्टरको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले उद्घाटन गरे । 

 

वनहर्टको ६२.३ प्रतिशत र गाउँपालिकाको ३७.७ प्रतिशत गरी १७ लाख रुपैयाँमा ४ कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

 

बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, पालो कुर्ने र हलसहितका ४ कोठे भवन निर्माण गरिएको छ । आवश्यक उपकरण, जनशक्ति एवं औषधी व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

 

वनहर्टले सुत्केरी गराउन उपयोग हुने बेडदेखि अन्य आवश्यक उपकरण उपलब्ध गराएको छ । बर्थिङ सेन्टरमा तालिम प्राप्त १ जना अनमी र १ जना मासिकालाई चौबीसै घन्टा खटाइने डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेको भनाइ छ ।

 

स्थानीय सरकार गठन भएपछि गर्भवती तथा सुत्केरी महिला एवं नवजात शिशुको जीवनरक्षाका लागि गाउँपालिकाले हरेक वडामा बर्थिङ सेन्टर स्थापनाको अभियान थालेको थियो ।

 

गर्भवती महिलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले बर्थिङ सेन्टर स्थापना अभियानलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिए ।

 

६ वटा वडा रहेको गाउँपालिकामा अब रावाबेँसीको वडा नम्बर ५ दुबेकोलमा मात्र बर्थिङ सेन्टर स्थापना गर्न बाँकी छ । यसअघि लामीडाँडा, खार्पा, कुभिन्डे र हौचुरमा बर्थिङ सेन्टर स्थापना भइसकेका छन् ।

 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष समला राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललगायत उपस्थित थिए ।