close

धवलागिरि गाउँपालिका अध्यक्ष पुनले बचाइन् सुत्केरी 

धवलागिरि गाउँपालिका अध्यक्ष पुनले बचाइन् सुत्केरी 

Trulli
ADVERTISEMENT

म्याग्दी- २९ माघ बिहीबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ५ मल्कवाङकी मनकुमारी विश्वकर्माको समयमै साल निस्किएन् ।

 

चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र साल निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रक्तश्राव पनि भइरहेको थियो । अड्किएको साल र रक्तश्रावले मनकुमारी विक्षिप्त थिइन् ।

 

२५ वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्य चौकीबाट राती १ बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याबारे जानकारी दिइयो । 

 

लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गरे । 

 

चिकित्सक र स्वास्थ्यकर्मी तयार भए तर राती भएकाले सवारी साधन पाएनन् । केन्द्रमा सवारी साधनको सुविधा छैन । 

 

धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले मालिकाकी उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिइन् । 

 

बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो । अध्यक्ष पुनले राती नै मराङका वडाध्यक्ष राजाराम सुवेदी, स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राती नै सडक अवरोध हटाउन लगाइन् । 

 

मल्कवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले राती १० बजे नै रिफर गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले सामान्य रूपमा लिएर धामीझाँक्री गराउन थाले ।

 

चेतनाको कमीले संवेदनशील अवस्थालाई सामान्य सोचेका मनकुमारीका परिवार ले आर्थिक अभाव र गरिबीका कारण खर्च हुने डरले बेनी, दरवाङ लैजान हिचहिचाए । 

 

स्वास्थ्य चौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाई-बुझाई गरेपछि उनीहरू मनकुमारीलाई दरवाङ लैजान तयार भए । मनकुमारीलाई मल्कवाङबाट मराङ स्वास्थ्य चौकीमा ल्याउने र चिकित्सक पनि दरवाङबाटै मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हुइँकिए । 

 

बिहान साढे ४ बजे मराङ स्वास्थ्य चौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मीको टोलीको भेट भयो । 

 

‘बाटोमा जहाँ भेट हुन्छ, त्यही उपचार गर्ने योजनासहित औजार, उपकरण तयार पारेर हिँडेका थियौँ । हामीले भेट्दा उहाँको अवस्था ठीक थिएन,’ चिकित्सक यादवले भने, ‘बिहान ५.२७ मा अड्किएको साल निकालेर औषधी दिएपछि उहाँको स्वास्थ्यमा सुधार आयो ।’
 


यादवको साथमा अनमी भीमा पुन, दीपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुवेदीको टोली मनकुमारीको उपचारमा खटियो । शुक्रबार बिहान ७ बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो ।

 

स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ नै रिफर गरिएको अहेब यमन नेपालीले बताए । 

 

आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जीवन पाएको प्रतिक्रिया दिएकी छिन् । ‘८ घन्टासम्म छटपटी र पीडा भयो’, उनले भनिन्, ‘मैले नयाँ जीवन पाएको महसुस गरेकी छु ।’ गत बिहीबार उनले जन्माएको बच्चा पाँचौँ सन्तान हो । यसअघि उनले जन्माएका ४ मध्ये २ वटा मात्र जीवित छन् । 

 

गत वर्ष प्रसूति केन्द्र स्थापना भए पनि त्यहाँ प्रसुति गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण अड्किएको साल निकाल्न नसकिएको हो । गर्भ रहेको ९ महिनामा उनले सामान्य हिसाबले नै बच्चा जन्माएकी थिइन् । 

 

साल ननिस्कने समस्यालाई चिकित्सक भाषामा रिटेन्ड पेलेसेन्ट र रक्तश्रावलाई पोस्ट पार्टयुम होमोरेन्ज भनिन्छ । अड्किएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाह्रो हुने र अन्त्यमा ज्यानै जान सक्ने खतरा हुन्छ ।


मल्कवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई प्रसूति तालिमको व्यवस्थाका साथै मातृशिशु स्वास्थ्यका विषयमा सचेतनामूलक कार्यक्रम चलाउने गाउँपालिका अध्यक्ष पुनले बताइन् ।