close

बान्चनका घरघरमा खानेपानी

बान्चनका घरघरमा खानेपानी

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ६ मराङको बान्चनमा पहिलो पटक पाइपबाटै खानेपानी सुविधा पुगेको छ । 

 

गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइपमार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दा खानेपानीका लागि आधा घन्टा टाढा रहेको मुहानमा पुग्ने गरेका थिए । 


खानेपानीको समस्याले स्थानीयको दैनिकी कष्टकर बनेको थियो । सरसफाइ, उपभोग, शौचालयमा चाहिने पानीसमेत गाग्री, ग्यालिन र ड्रममा ओसार्नुपर्ने बाध्यता थियो ।


पहिलो पटक पाइपबाट घरघरमा पानी आएपछि स्थानीयमा खुसीयाली छाएको त्यहाँका जीत गर्बुजाले बताए । गेरवाङको मुहानमा ट्यांकी बनाएर २ हजार ५ सय मिटर पाइपबाट पानी ल्याइएको छ । 

 

गाउँपालिकाले १ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको सो खानेपानी निर्माण गर्न स्थानीयले श्रमदानसमेत गरेको अध्यक्ष प्रेमलाल सुवेदीले जानकारी दिए । ३ घरको स्थायी बसोबास भएको बान्चनमा थप ७/८ जनाको खेतबारी र गोठ छन् । 

 

थोरै घरधुरी भएकाले त्यहाँका बासिन्दाको खानेपानी मागप्रति अहिलेसम्म सुनुवाइ भएको थिएन । वडाका जनप्रतिनिधिले सिफारिस गरेर धेरै वर्षको प्रयासमा खानेपानी पाएकोमा बान्चनबासी खुसी छन् ।

 

खानेपानीका अतिरिक्त सो पानी सिँचाइमा पनि प्रयोग गर्न सकिनेछ । करेसाबारी र खेतीबालीमा सिँचाइ गर्न पनि सुविधा पुगेको छ । बान्चनमा खेतीयोग्य जमिन भए पनि सिँचाइ समस्या छ ।