close

माथि जलजलाको फोहोर, पुछारमा खानेपानीको मुहान 

माथि जलजलाको फोहोर, पुछारमा खानेपानीको मुहान 

Trulli
ADVERTISEMENT

पर्वत– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक छेउ र कालीगण्डकी नदी किनारमा फोहोर फालिँदा स्थानीय र यात्रु प्रभावित भएका छन् । 


फोहोरको दुर्गन्धले आउजाउ गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्त्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ । 

 

जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर संकलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ । सडक छेउमा फालिने फोहोर पवित्र कालीगण्डकीमा समेत पुग्छ । 

 

फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धुँवाले बटुवा, गाडीमा यात्रा गर्ने र स्थानीयलाई प्रभावित बनाएको वारीबेनीकी रञ्जता शर्माले बताइन् । ‘नाक थुनेर हिँडडुल गर्नुपर्ने अवस्था छ’, उनले भनिन्, ‘खानेपानीको मुहान नजिकै फोहोर फाल्न ठीक भएन । फोहोरको दुर्गन्ध र प्रदूषणले समस्या बनाएको छ ।’

 

यसअघि स्थानीय बजार व्यवस्थापन समितिले गर्दै आएको फोहोर व्यवस्थापन गर्न केही महिनाअघि जलजला गाउँपालिकाले वारीबेनीको पीपलबोट युवा क्लबसँग सम्झौता गरेको थियो ।

 

गाउँपालिकाले २२ लाख रुपैयाँमा खरिद गरेको ट्रयाक्टर मर्मत, इन्धन र चालक खर्च बेहोर्ने सर्तसहित संस्थालाई उपलब्ध गराएको छ । गाउँपालिकाले तोकेको दररेटअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक ४ लाख ८० हजार रुपैयाँ बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । 

 

व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम ५० देखि १ हजार १५ रुपैयाँसम्म विभिन्न २६ वटा शीर्षकमा सेवाशूल्क तोकिएको छ । फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै लगिने शर्माको दाबी छ । 

 

सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको हो । संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९ सय घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ । दैनिक ३ ट्रयाक्टर फोहोर संकलन हुन्छ । लामाखेत, मिलनचोक र लस्ती बजारमा फोहोर संकलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन । 

 

फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरीमा ५ लाख रुपैयाँ खर्चेर बनाएको डम्पिङ साइट र त्यहाँ पुग्ने सडक पहिरोले भत्काएको थियो । सडक र डम्पिङ साइट मर्मत नभएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पीपलबोट युवा क्लबका सचिव चञ्चल जिसीले बताए । 

 

‘मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौँ’, उनले भने, ‘मिलनचोक र लस्ती बजारमा पनि ट्रयाक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छाँै ।’ मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ ।