close

भीमसेन थापा सम्झाउने पार्क

भीमसेन थापा सम्झाउने पार्क

Trulli
ADVERTISEMENT

गोरखा- नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रूपमा विकसित हुँदै छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन पार्क निर्माणपछि पीपलथोक घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो ।

 

ऐतिहासिक महत्त्व बोकेको पीपलथोकबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रेलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । साथै, गोरखाको ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोट दृश्यावलोकन गर्न सकिन्छ ।

 

भीमसेन थापाको जन्म १८३२ मा पीपलथोकमा भएको थियो । गोरखा नगरपालिकाले पीपलथोकमा थापाको पूर्ण कदको शालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्य स्थल बनाएको हो ।


पछिल्लो समय भीमसेन पार्क स्थानीय पर्यटकको रोजाइको गन्तव्य बनेको छ । विशेषगरी भीमसेन पार्कमा बिदाका दिन वा शनिबार घुम्न आउने आन्तरिक पर्यटकको भीड लाग्न थालेको गोरखा वडा नम्बर ४ का वडाध्यक्ष खोपबहादुर अधिकारीले बताए । ‘यस पार्कमा बिदाको दिन अनि शनिबार दैनिक २ देखि ३ सयजना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्’, वडाध्यक्ष अधिकारीले भने ।


यहाँ घुुम्न आउने पर्यटक अधिकांश तनहुँ, लमजुङ, पोखरा, चितवनलगायतका जिल्लाबाट आउने गरेको स्थानीय बताउँछन् । यस पार्कमा विदेशी र आन्तरिक पर्यटकलाई पनि आकर्षण गर्न थप भौतिक संरचना बनाउने लक्ष्य रहेकोे वडाअध्यक्ष अधिकारी बताउँछन् । 

 

‘पार्कमा केही भौतिक संरचना थपेर आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित हामी लागिपरेका छौँ’, उनले भने । गत १ माघदेखि भीमसेन पार्क संरक्षण समिति गठन गरेर यहाँ आउने पर्यटकलाई टिकटको व्यवस्था गरिएको वडाध्यक्ष अधिकारीको भनाइ छ । 

 

पार्क नजिकै होमस्टे पनि सञ्चालमा छ । हाल पार्कसम्म जाने सडक स्तरोन्नति भएको छ ।