close

क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई महानगरको ३० लाख सहयोग

क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई महानगरको ३० लाख सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु भएको छ । 

 

२०१३ मा स्थापना भएको क्षेत्रपाटीमा अवस्थित निःशुल्क चिकित्सालयको ६४ औं वार्षिकोत्सव अवसरका काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले लिफ्ट उद्घाटन गरे । 

 

करिब ४५ लाख रुपैयाँको लागतमा लिफ्ट निर्माण गर्न काठमाडौं महानगरले ३० लाख रुपैयाँ सहयोग गरेको हो । 

 

कार्यक्रममा प्रमुख शाक्यले काठमाडौंमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालका बीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिने लक्ष्य राखेर सञ्चालनमा रहेको चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । शाक्यले भने, ‘काठमाडौं महानगर क्षेत्रभित्र ठूला-ठूला राष्ट्रिय स्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन् ।’


 
चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालू आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ३ सय बिरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिँदै आइरहेको २५ शय्याको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज भएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए ।

 

‘यो अस्पतालबाट नाक, कान घाँटी, दन्त सेवा, मुटु रोगलगायत जटिल खाले रोगको विशेषज्ञ सेवा दिइरहेका छौँ,’ डाक्टर श्रेष्ठले भने, ‘भित्री सहरका नागरिकलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पतालले आगामी दिनमा थप सेवा विस्तारको योजना अघि सारेको छ ।’


२०१३ मा स्थापना भएको चिकित्सालयमा अहिले २५ शय्या छन् । ‘ती बेड माथिल्लो तलामा भएकाले सेवा प्रवाहमा कठिन थियो । लिफ्ट जडानसँगै सेवा सहज हुने अपेक्षा छ,’ श्रेष्ठले भने । चिकित्सालयले भूमिगत २ तलासहित १० तले भवन बनाउने योजना कार्यान्वयन चरणमा पुर्‍याएको पनि उनको भनाइ छ ।