close

काम थालेको २ वर्षमा पनि कालोपत्रे भएन डेढ किलोमिटर सडक

बेनी नगरपालिकाको कार्यालयअगाडिकै सडककाे बिजाेक

काम थालेको २ वर्षमा पनि कालोपत्रे भएन डेढ किलोमिटर सडक

बेनी नगरपालिकाको कार्यालयअगाडिकै सडककाे बिजाेक

Trulli
ADVERTISEMENT

म्याग्दी- निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले ठेक्का लिएको बेनी नगरपालिकाको कार्यालयअगाडिको सडक निर्माणमा ढिलासुस्ती भएको छ । 


मंगलाघाटदेखि हाडेभीर हुँदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजना २ वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरबाही र ढिलासुस्तीले अलपत्र परेको हो । 


बेनी नगरपालिका वडा नम्बर ७ मंगलाघाटदेखि वडा नम्बर २ को हाडेभीर हुँदै बगरफाँट जोड्ने सडक कालोपत्रेमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती भएको मंगलाघाटका सुवासकुमार श्रेष्ठले बताए । 


‘सडकको धुलोले हरेक पटक बेनी बजार गएर फर्किपछि नुहाउनु र कपडा धुनुपर्ने हुन्छ,’ उनले भने, ‘साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आउजाउमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।’ 


सडक विस्तार र कालोपत्रे गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिदेखि मंगलाघाट जाने सडकमा यसअघि गरिएको कालोपत्रे उप्काइएको थियो । नयाँ पिच गर्न ढिलाइ गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मंगलाघाटको सडकको धुलो र हिलोले स्थानीय प्रभावित भएका छन् ।

 

हाडेभीर-बगरफाँट, भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो । हाल सहरी विकास मन्त्रालयको सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको यो योजना देव एन्ड सायर-बीएन-त्रिशक्ति जेभीले ५ करोड रुपैयाँमा ठेक्का लिएको थियो । 


२ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २२ माघ २०७५ मा सम्झौता गरेका ठेकेदारले हालसम्म २ करोड रुपैयाँ मात्र भुक्तानी लगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर प्रभाकर कर्णले बताए । 

 

२२ माघ २०७७ सम्म म्याद रहेको आयोजनाका ठेकेदारले १ वर्षदेखि काम गरेका छैनन् । १४ सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकामा मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब २ सय मिटर सडक ढलान भने २०७५ साउनमै गरिएको निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले बताए । जिसी निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष हुन् । 

 

‘लकडाउनले रोकिएको कालोपत्रे गर्ने कामलाई चैतभित्र सक्ने योजनामा लागेको छु’, उनले भने, ‘यसअघि गरिएको कामको समेत भुक्तानी पाएको छैन । यसपालि पनि ८० लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको छ ।’


यो सडकमा गर्ने भनिएको अक्सपाल्ट प्रविधिको कालोपत्रेका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा सेटिङ हुँदैन । ‘नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सकिएको छ’, सिभिल इञ्जिनियर कर्णले भने, ‘बेस र सबबेससमेत राखिसकिएको छ । ६ महिना म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ ।’ 

 

ठेक्काअनुसार गर्नुपर्ने कामको परिणाम पुर्‍याउन भेरिएसन अर्डर भइरहेको छ । सघन सहरी कार्यालय, प्रशासन, नगरपालिका र ठेकेदारबीच गत महिना भएको छलफलमा माघभित्र अक्सपाल्टको प्लान्ट स्थापना गर्ने सहमति भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए ।