close

जन्तेढुंगा र धिप्लुङ झरनाकाे पूर्वाधार निर्माणमा पर्यटन मन्त्रालयको साझेदारी 

जन्तेढुंगा र धिप्लुङ झरनाकाे पूर्वाधार निर्माणमा पर्यटन मन्त्रालयको साझेदारी 

Trulli
ADVERTISEMENT

खोटाङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खोटाङका २ वटा पर्यटकीय स्थलको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहसँग साझेदारी गर्ने भएको छ । 


पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको धिप्लुङ झरनाको पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माणलगायतका लागि मन्त्रालयले सम्बन्धित स्थानीय तहसँग साझेदारी गर्ने टुंगो लगाएको हो । 


लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकासका लागि पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको थियो । 

 

सम्बन्धित स्थानीय तहले गरेको प्रस्तावका आधारमा धिप्लुङ झरनाको पर्यटन पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, जन्तेढुंगाको पर्यटन प्रवद्र्धनका लागि २ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

पर्यटन मन्त्रालयले लागत साझेदारीमा पर्यटकीय स्थलको प्रवद्र्धनका लागि बजेट विनियोजन गरेपछि स्थानीय तहमा उत्साह जगाएको छ । 

 

जन्तेढुंगाको वडा नम्बर ५ चिसापानीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल जन्तेढुंगा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य रहेको जन्तेढुंगामा पछिल्लो समय पिकनिक जाने, घुमफिर गर्ने, सांस्कृतिक पक्षको अध्ययन र अवलोकन गर्ने स्थानीयको बाक्लो भीड बढेको छ ।

 

फराकिलो डाँडामा रहेको विशाल ढुंगामा देखिने जन्तीको आकृति अवलोकनका लागि जन्तेढुंगा प्रसिद्ध छ । परापूर्व कालमा गोल्पा राजा र गोल्मा रानीको जन्ती अलप भएको आधारमा सो स्थानको नाम जन्तेढुंगा रहेको पौराणिक किंवदन्ती रहेको स्थानीय वृद्ध काशीरामकुमार राई बताउँछन् । 


जन्तेढुंगामा ढुंगामा २ वटा विशाल ढुंगा, ढुंगाको भित्तामा प्राकृतिक रूपमा बनेको पंक्तिबद्ध जन्तीको आकृति, दमाहाको धुन निस्कने ढुंगा, जाँतोलगायत दृश्यावलोकन गर्न सकिन्छ । 

 

पञ्चकन्या थान रहेको जन्तेढुंगा दृश्यावलोकनका लागिसमेत उपयुक्त स्थान हो । स्थानीय सरकारले धार्मिक तथा पर्यटकीय स्थल जन्तेढुंगाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । 

 

यस्तै, दिप्रुङ चुइचुम्माको वडा नम्बर ७ टेम्मा र वडा नम्बर ६ छितापोखरीको सिमानामा पर्ने १ सय ६७ मिटर अग्लो झरना आन्तरिक पर्यटकको रोजाइमा विकसित हुँदै गएको छ । 

 

दिप्रुङ चुइचुम्माले छितापोखरी गोगने हुँदै झरनासम्म पुग्ने सडक, सडकबाट झरनासम्म रेलिङसहितको ढलान बाटो, झरनाको शिरमा दृश्यावलोकनका लागि पार्क, फलैँचा, माथिल्लो भागको झरना हेर्न जाने रेलिङसहितको पक्की बाटो बनाएपछि घुमफिरमा जाने आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । 


धिप्लुङ झरनामाथि ढकनी आकारको ढुंगा रहेको छ । सोही ढुंगामाथि ठूला-ठूला सर्प, बिच्छी र खजुरा घाम लागेका बेला बस्ने र अलिअलि धुम्मिनेबित्तिकै लुक्ने गरेको किंवदन्ती छ । 

 

ढुंगामुनि रहेको बहुमूल्य धातुको रक्षाका लागि बस्ने सर्प, बिच्छी, खजुरालाई चट्याङले हान्ने गरेको स्थानीय बताउँछन् । झरना वरपर झाँक्री गुफा रहेको र रिठ्ठे झाँक्री बस्ने हुनाले आसपासका स्थानीयले पूजाआजा गर्ने गरेका छन् । 


पर्यटन मन्त्रालयले दिक्तेल रुपाकोट मझुवागढीको वडा नम्बर १ दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गर्न २ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको छ ।