close

हिमपातले सेतै भए कोसी पहाडका जिल्ला

हिमपातले सेतै भए कोसी पहाडका जिल्ला

Trulli
ADVERTISEMENT

धनकुटा- बिहीबार साँझ वर्षासँगै कोसी पहाडी जिल्लाका उच्च स्थानमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको हो ।

 

धनकुटाको नुनथला, चित्रेलगायतका क्षेत्रमा हिमपात भएको छ । सो क्षेत्रमा करिब १ फिट हिउँ जमेको थियो । नुनथला-चित्रे खण्डमा हिउँले सडक ढाकिँदा दिउँसो करिब १ घन्टा यातायात अवरुद्ध बनेको थियो ।

 

दिउँसोदेखि हिमपात भएकाले तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे मिल्के जलजले क्षेत्रको तिनजुरे, मंगलबारे, चौकीबजार, गुफापोखरीलगायत ठाउँका स्थानीयको जनजीवन प्रभावित भएको छ ।

 

यो वर्ष पहिलो पटक हिमपात भएकाले किसान भने हर्षित छन् । हिमपातले बालीनाली सप्रिने भएकाले खुसी भएको स्थानीय छिरिङ लामाले बताए ।

 
हिमपात भएको क्षेत्रमा बाक्लो हिउँ परेपछि सिसाजस्तै हिउँ जमेको छ । हिमपातपछि चिसो बढेकाले जनजीवन प्रभावित भएको लामाले जानकारी दिए । हिमपातपछि बिहीबार बेलुका घरबाहिर निस्कन नसक्ने अवस्था आएको उनले बताए । 

 

एक्कासि हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौँरी तथा भेडीगोठ औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा गेलु शेर्पाले जानकारी दिए । करिब १० महिनापछि पानी परेको र त्योसँगै हिमपात भएकाले लेकाली क्षेत्रमा हुने तरकारी बालीलाई फाइदा पुग्नेछ ।


पर्यटकीय गतिविधि बढ्ने


यसैबीच हिमपात यो वर्ष पहिलो पटक भएकाले पर्यटकीय गतिविधि बढ्ने भन्दै स्थानीय खुसी छन् । तिनजुरे मिल्के जलजले क्षेत्रमा विशेषगरी गुराँस हेर्न र हिउँ खेल्न आन्तरिक पर्यटक आउने गरेका छन् ।

 

बिहीबार साँझ हिउँ परेपछि शुक्रबार बिहानैदेखि पर्यटक आउन थालेको स्थानीय दिनेश कार्कीले जानकारी दिए । यो वर्ष गत वर्षभन्दा केही ढिलो र कम हिउँ परेको बताए ।

 

‘गत वर्षमा माघ लागेदेखि नै १/२ फिट बाक्लो हिउँ पथ्र्यो,’ कार्कीले भने, ‘यस वर्ष फागुन लागेपछि मात्रै त्यो पनि आधा फिट मात्र हिउँ परेको छ ।’