close

काठमाडौं महानगरकाे सांस्कृतिक महोत्सव

काठमाडौं महानगरकाे सांस्कृतिक महोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस-२०७७ को पूर्वसन्ध्यामा काठमाडौं महोत्सव सम्पन्न गरेको छ । दरबारमार्गमा आयोजित महोत्सव सम्पन्न भएको हो ।


महोत्सवमा कलाकारसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न प्रस्तुति गरेका थिए । 

 

नेपाली सेनाले मौलिक परम्परागत बाजा बजाएर ‘करोडौं मुटुरूको एउटै ढुकढुकी नेपाल’, ‘पंक्षीमा डाँफे राम्रो’, ‘नेपाली हामी रहौंला कहाँ’ लगायतका गीत धुन प्रस्तुत गरेको थियो । सेनाले ‘टप्पा’ नृत्य र ‘तामाङ सेलो’ नृत्य पनि प्रस्तुत गरेको थियो । 

 

नेपाल प्रहरीले ‘नेपाली हामी रहौंला कहाँ’ र ‘मै भेडी गोठालो’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको थियो । सशस्त्र प्रहरीले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेको थियो ।

 

तीनवटै सुरक्षा निकायका व्याण्डहरूले संयुक्त रूपमा ‘मन त मेरो नेपाली हो’, ‘मलाई प्यारो लाग्छ’, ‘रातो र चन्द्र सूर्य’ बोलका गीतमा व्याण्ड गायन प्रस्तुति गरेका थिए । 

 

महोत्सवमा सविन राई एण्ड पारोहको विशेष प्रस्तुति थियो । त्यस्तै गायक मदन गोपाल नेपाल, गायिका मञ्जु पौडेल, प्रकाश सपुत, प्रीति आलेलगायतले गीत गाएका थिए ।


महोत्सवका बारे जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कोभिड-१९ महामारीले मानिसको मनमा रहेको त्रासलाई कम गराउन महोत्सव आयोजना गरिएको बताए । ‘कोभिड-१९ को महामारीले आम मानिसमा परेको त्रास कम गराउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको हो ।’

 

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरू, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, कर्मचारी र जनसाधारणको सहभागिता थियो ।