close

स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएपछि गाउँपालिका अध्यक्षको ‘एक्सन’ 

स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएपछि गाउँपालिका अध्यक्षको ‘एक्सन’ 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासेस्थित स्वास्थ्य चौकी भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै सच्याउन लगाइएको छ । 

 

स्वास्थ्य चौकीको निर्माणाधीन भवनको पीपीसी ढलान गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले भत्काएर पुनर्निर्माण सुरु गर्न निर्देशन दिएको छ ।


स्वास्थ्य चौकी भवन निर्माणका क्रममा सिमेन्ट, बालुवा र गिटीको मात्रा नमिलाएको, कमसल खाले गिटी र बालुवा प्रयोग गरिएको, सोलिङमाथि गरिएको पीसीसी ढलानलाई क्युरिङ (पानीले भिजाउने काम) नभएकाले निर्माण व्यवसायीलाई भत्काएर पुनर्निर्माण सुरु गर्न निर्देशन दिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।


‘केही समयअघि अनुगमनमा पुग्दा गुणस्तरहीन काम भएको पाइएपछि भत्काएर पुनर्निर्माण गर्न भनेका थियौँ,’ अध्यक्ष राईले भने, ‘तर, अहिले कमजोरी सच्याउनुको सट्टा त्यहीमाथि निर्माण अघि बढाइएकाले काममा रोक लगाएका हौँ ।’ 

 

पीसीसी ढलान हातले उप्क्याउँदा उप्किने अवस्थामा भेटिएको राईले बताए । स्वास्थ्य चौकी भवन निर्माणका क्रममा भएका त्रुटि सच्याएर काम सुरु गर्न निर्देशन दिइए पनि सरासर काम अघि बढाइएको भन्दै बिहीबार गाउँपालिकाले इन्जिनियर मुकेशनारायण यादव र सब-ओभरसियर सुजन घिमिरेलाई निर्माण स्थलमा खटाएको थियो । इन्जिनियर र सब-ओभरसियर पुगेपछि ढलानका लागि लगाइएको फर्मा खोल्ने र क्युरिङ नपुग्दा कमजोर भएको पीपीसी ढलानको भाग भत्काउन थालिएको छ । 

 

निर्माण स्थलमा पुगेका इन्जिनियर यादवले क्युरिङ नपुगेर पीपीसी ढलान कमजोर बनेको पाइएको बताए । क्युरिङ नपुगेकाले पीसीसी ढलान भत्काउन निर्देशन दिइएको जानकारी गाउँपालिका अध्यक्षबाट आएको बतासेका वडाध्यक्ष लोकेन्द्र राईको भनाइ छ ।

 

पुनर्निर्माण प्राधिकरणमार्फत प्राप्त ७ करोड ४० लाख ८४ हजार रुपैयाँमा २ वर्षभित्र पूरा गर्ने गरी स्वास्थ्य चौकी भवन निर्माण सुरु गरिएको हो ।

 

स्वास्थ्य चौकी भवनको प्रदेशसभा सांसद रामकुमार राईले गत ५ पुसमा शिलान्यास गरेका थिए । ९ चैत २०७८ सम्म पूरा गर्ने गरी निर्माण कम्पनी गौरी पार्वती न्यू टेक्नोलोजी जेभीले गत १ मंसिरमा सम्झौता गरेको थियो । 


अघिल्लो दिन काम अघि बढाउन भन्दै हस्ताक्षर गरेर फर्किएको गाउँपालिकाका इन्जिनियर भोलिपल्ट भत्काउन आएको प्राधिकरणका इन्जिनियर उमाशंकर साहले बताए । गाउँपालिका अध्यक्षको ‘मन राखिदिन’ ढलान भत्काइएको साहको भनाइ छ । निर्माण व्यवसायीले भने स्टिमेटअनुसार काम गरेको दाबी गरेका छन् ।