close

कोहलपुरका सुकुम्बासीद्वारा आन्दोलनकाे घोषणा

भूमिहीन सुकुम्बासी आयोगले दर्तामा नसमेटेको गुनासो

कोहलपुरका सुकुम्बासीद्वारा आन्दोलनकाे घोषणा

भूमिहीन सुकुम्बासी आयोगले दर्तामा नसमेटेको गुनासो

Trulli
ADVERTISEMENT

बाँके- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित लोकनगरमा रहेका भूमिहीन तथा सुकुम्बासीले आन्दोलन घोषणा गरेका छन् ।

 

कोहलपुर वडा नम्बर ११ शान्तिनगर टोल डुडुवा बस्तीको संगठन अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समितिले पत्रकार सम्मेलन गरी आफ्ना माग पूरा नभए आन्दोलनमा जाने बताएको हो । 


नेपाल सरकारले गठन गरेको भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगले अहिले कोहलपुर नगरपालिकाभित्रका भूमिहीन सुकुम्बासीको लगत संकलन गरिरहेको छ । तर, आयोगले हालसम्म आफूहरूको लगत संकलन नगरेको भन्दै शान्तिनगरबासीले ९ फागुनदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

 

अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिका अध्यक्ष जीवन थापाले लामो समयदेखि सो क्षेत्रमा बसोबास गर्दै आइरहेको र हालसम्म बसाइँसराइ, जन्मदर्ता, विवाह दर्तालगायत अन्य कार्य नभएको बताए । 

 

२०६८ मा नेपाल सरकारद्वारा गठित सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्य समिति बाँकेले सुकुम्बासीको हौसियतले पाउनुपर्ने सुकुम्बासी परिचयपत्र पाइसकेको उनको दाबी छ । 


अव्यवस्थित भूमिहीन दलित तथा सुकुम्बासीको लगत तत्काल लिनुपर्ने, बसाइँसराइलगायत व्यक्तिगत घटना तत्काल दर्ता गरिदिनुपर्ने र कोहलपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीको पहिचान गरी तत्काल स्थायी समास्या समाधानका लागि पहल गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिने उनको भनाइ छ ।

 

नगरले भने नगर विकास कोषको नम्बरी जग्गा कब्जा गरेको दाबी गरेको छ । सुकुम्बासीले नगर विकाष कोषको ८ देखि १० बिघासम्मको नम्बरी जग्गा कब्जा गरेको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।


‘द्वन्द्वकालमा आएर कब्जा गरेको कोषको नम्बरी जगा उनीहरूले दाबी गरिरहेका छन्,’ नगरप्रमुख रावतले भने, ‘द्वन्द्वकालमा उनीहरूलाई कसैले हटाउन सक्ने अवस्था थिएन । तर, अहिले त्यस्तो अवस्था छैन । जहाँसम्म लगत संकलनको कुरा छ, त्यो हामीले चरणबद्व तरिकाले गरिराखेका छाैं । उनीहरूको पनि पालो आउँछ ।’

 

उनीहरूले कानुनसम्मत ढंगले जग्गा पाउने-नपाउने कुराको निक्र्योल आयोगले गर्ने रावत बताउँछन् ।