close

सुत्केरी आमा र नवजात शिशुलाई भेट्न घर-घर पुग्दै केपिलासगढी

सुत्केरी आमा र नवजात शिशुलाई भेट्न घर-घर पुग्दै केपिलासगढी

Trulli
ADVERTISEMENT

खोटाङ- सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले पोस्टनेटल केयर (पीएनसी) घरभेट कार्यक्रम गर्ने तयारी गरेको छ ।

 

घर-घरमा पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक स्वास्थ्य सुरक्षाबारे परामर्श दिने लक्ष्यसहित गाउँपालिकाले (पीएनसी) घरभेट कार्यक्रम चलाउने तयारी थालेको हो । 

 

पीएनसी घरभेट कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न शुक्रबार गाउँपालिकाभरका ७ वडाका २१ जना स्वास्थ्यकर्मीलाई सहभागी गराएर अभिमुखीकरण म सञ्चालन गरियो ।


पीएनसी घरभेट कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हीरादेवी वनले उद्घाटन गरेका थिए ।

 

अभिमुखीकरण कार्यक्रममा हरेक स्वास्थ्य चौकीका १ जना प्रमुख र २ जना नर्सिङ स्टाफ सहभागी भएका छन् । बच्चा र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आमा र बच्चाको स्वास्थ्यमा खतराको संकेत देखिए स्वास्थ्य संस्था जान परामर्श प्रदान गर्ने, नियमित खोपको मात्रा पूरा गर्न सरसल्लाह दिन पीएनसी घरभेट कार्यक्रम सुरु गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शिव राईले बताए । 


सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुत्केरी भएको २४ घन्टा, ३ दिन र ७ देखि १४ दिनको बीचमा नर्सिङ स्टाफ घरैमा पुग्नेछन् ।


पीएनसी घरभेटमा हिँडेबापत दूरीको आधारमा नर्सिङ स्टाफलाई खाजा खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा संयोजक राईले बताए ।

 

‘आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रगत बगे÷नबगेको बारे बुझ्ने, खतराका संकेत देखिए तत्काल स्वास्थ्य संस्था जान परामर्श प्रदान गर्न पीएनसी कार्यक्रम सुरु गर्न लागिएको हो,’ स्वास्थ्य शाखा संयोजक राईले भने, ‘अकालमा हुने मातृ तथा बालमृत्यु दरमा कमी ल्याउने गाउँपालिकाको उद्देश्य हो ।’