close

बेलकाको देउरालीमा लिफ्टिङ खानेपानी 

पानी नपाएर बसाइँ सर्नेहरू थातबासमै अडिने आश

बेलकाको देउरालीमा लिफ्टिङ खानेपानी 

पानी नपाएर बसाइँ सर्नेहरू थातबासमै अडिने आश

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुुरको बेलका नगरपालिका वडा नम्बर ६ कटुन्जेबबलाका स्थानीय खानेपानीका कारण अब बसाइँ सर्न नपर्ने भएका छन् । हुदासे सोलार लिफ्टिङ खानेपानी योजना सम्पन्न भई घरघरमा खानेपानी धारा पुगेपछि स्थानीयको वर्षौंदेखिको खानेपानी समस्या समाधान भएको हो । 

 

हुदासे सोलार लिफ्टिङ खानेपानी योजनाले ६० घरधुरी लाभान्वित भएका छन् । २८ कात्तिक २०७६ मा सम्झौता भई २०७७ माघमा योजना सम्पन्न भएको हो । सौर्य लिफ्टिङ खानेपानी योजनाको भर्टिकल हेडमा ३ वटा ट्यांकी राखिएको छ । बराबरी दूरीमा ट्यांकी मुहानदेखि क्रमशः ३४, १५ र ३२ घनमिटरका छन् ।

 

पानीको मुहान हुदासेबाट ३ सय २५ मिटर अग्लो देउरालीमा भने ३२ घनमिटरको ट्यांकीमा पानी सिञ्चित गरेर ३ सय ३२ क्षेत्रफलको ६० घर उपभोक्ताको घरघरमा पानी विस्तार गरिँदै आएको छ ।

 

बेलका नगरपालिकाको १४ लाख ३९ हजार रुपैयाँको योजनाअन्तर्गत केयर नेपाल, लि-बर्डको २१ लाख ३३ हजार ४ सय ८२, उपभोक्ताको ६६ हजार ९ सय ७५ र श्रमदान ५ लाख २० हजार गरी ४१ लाख ५९ हजार ४ सय ५७ रुपैयाँमा योजना निर्माण भएको हो ।

 

योजना सम्पन्न गर्न राष्ट्रिय कृषक महासंघ बेलका नगरपालिकाले सहजीकरण गरेको थियो । ५० घरमा घरबगैँचा कार्यक्रमे सार्मथ्य परियोजनाले सञ्चालन गरिरहेको छ ।

 

त्यसमा बिउबिजन वितरण गरिएको लि-बर्डका सहजकर्ता सागर जिसीले बताए । वडा ६ पूर्ण सरसफाइ घोषणा भएको वडा हो ।

 

बेलका नगरपालिका नगरप्रमुख दुर्गाकुमार थापा, नगर उपप्रमुख राजकुमारी चौधरी र वडाध्यक्ष वसन्तकुमार मगरले संयुक्त रूपमा खानेपानी योजनाको उद्घाटन गरे । नगरप्रमुख थापाले खानेपानीका कारण बसाइँ सरिजानेहरू पछुताउने बताए ।

 

चुनावी घोषणापत्रमा विकट र विपन्न समुदायमा विकासका पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेअनुसार खानेपानी सुविधा पु¥याइएको उनको भनाइ छ ।

 

नगर उपप्रमुख चौधरीले तराईमा सिँचाइ र पहाडमा खानेपानी समस्या रहेको बताइन् । खानेपानी समयतालिका मिलाए प्रयोग गरे अभाव सिर्जना नहुने उनको भनाइ छ ।

 

वडा नम्बर ६ का वडाध्यक्ष वसन्तकुमार मगरले चुनावताकै योजना बनाएको खानेपानी स्थानीयलाई उपलब्ध गराएको जानकारी दिए ।

 

पुवारेथुम्का विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर निरौलाले खानेपानी सुविधापछि विद्यार्थीलाई पनि सहज हुने बताए । १५ लाख रुपैयाँमा २०६८ मै निर्माण सम्पन्न भएको सिम्ले खानेपानी योजना भने निरन्तर छैन । 

 

योजनाका अध्यक्ष विभा राईले सिम्लेकै अवस्था आउने शंका रहेकाले सम्बधित निकाय जानकार रहनुपर्ने औँल्याए । राष्ट्रिय कृषक महासंघ बेलकाका अध्यक्ष नारद निरौलाले विकासमा स्थानीयको सहभागिता भए योजना निर्माणले सार्थकता पाउने बताए ।