close

गाउँगाउँमा बेराेजगार खाेज्दै ऐँसेलुखर्क

गाउँगाउँमा बेराेजगार खाेज्दै ऐँसेलुखर्क

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले बेरोजगार व्यक्तिको सूचीकरण तयारी थालेको छ । रोजगारीको हकसम्बन्धी ऐन, २०७५, सोको नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका, २०७५ (पहिलो संशोधन, २०७७) बमोजिम गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बेरोजगारको सूचीकरण तयारी थालेको हो ।


आर्थिक वर्ष २०७८/७९ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन चाहने विपन्न तथा जीवनयापन जोखिममा परेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई सूचीकृत हुन गाउँपालिकाले फागुनभित्र निवेदन पेस गर्न आग्रह गरेको छ । 

 

बेरोजगार व्यक्तिको सूचीमा समावेश हुन चाहने व्यक्तिले एक-एक प्रति फोटो, नागरिकताको फोटोकपीका साथ आ-आफ्नो वडा कार्यालयमा निवेदन पेस गर्न पाउने व्यवस्था मिलाइएको ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

 

व्यक्तिगत, पारिवारिक विवरण, आयआम्दानी तथा अन्य पेसा व्यवसायलगायत सम्पूर्ण विवरण समेटेर प्रत्येक वडा कार्यालय र रोजगार सेवा केन्द्रमा निवेदन फर्म भर्न सकिनेछ ।

 

अघिल्लो वर्ष बेरोजगारमा सूचीकृत भएका नागरिकको नवीकरण एवं छुट भएका व्यक्तिको सहभागिताका लागि २ फागुनमा सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । 


ऐँसेलुखर्कमा करिब साढे ११ सय नागरिक बेरोजगार व्यक्तिको सूचीमा समावेश छन् । बेरोजगार व्यक्तिमा सूचीकृत नागरिकलाई गाउँपालिकाभित्रका सडक मर्मत, विद्यालय तथा धार्मिक क्षेत्रको घेराबारा हाल्ने, सडकको टेवा पर्खाल निर्माण, पैदल तथा पर्यटन मार्ग सरसफाइलगायतमा खटाउने गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । 

 

यसका लागि चालू आर्थिक वर्षमा ५७ लाख रुपैयाँ विनियोजन गरिएको थियो । विनियोजित रकमको खर्च अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

 

यस्तै, चालू आर्थिक वर्ष नै ६३ लाख ८ हजार रुपैयाँको कार्यक्रम सुरु गर्ने तयारी भइरहेको छ । यसबाहेक ३८ लाख रुपैयाँको सिलिङ आएको गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिए ।

 

‘छुट भएका बेरोजगार व्यक्तिलाई सूचीमा समावेश गर्ने र पुरानो सूचीकृत व्यक्तिको नवीकरण सुरु गरिएको हो,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘कतिपय पैसा पाइन्न भनेर बेरोजगारमा सूचीकृत हुँदैनन् । कतिपय सित्तैमा पैसा पचाउन सकिन्न भनेर सूचीकृत हुन आउने देखिएको छ ।’