close

पोखराको अकासे पुल : तीन वटै सरकार जुट्दा पनि निर्माण अन्योलमै

सिर्जनाचोकमा अलपत्र छ, अकासे पुल

पोखराको अकासे पुल : तीन वटै सरकार जुट्दा पनि निर्माण अन्योलमै

सिर्जनाचोकमा अलपत्र छ, अकासे पुल

Trulli
ADVERTISEMENT

कास्की- पोखराको सिर्जनाचोकमा अलपत्र छ, अकासे पुल । विघटित प्रतिनिधिसभा सांसदको पहल । महानगर र संघ सरकारको बजेट । प्रदेश सरकारका प्रमुखको शिलान्यास । वडाध्यक्ष, महानगर प्रमुख हुँदै प्रदेशदेखि प्रतिनिधिसभाका सांसदको भाषण ।

 

सबै तहका सरकारले काम गर्ने प्रतिबद्धता जनाए पनि निर्माणको ताल कछुवा गतिमै छ । पोखरा अन्तर्राष्ट्रिय सहर पनि हो । त्यसमाथि पोखरा सहरको निर्माण भएको धेरै लामो समय बितेको छैन ।

 

५० को दशकपछि पोखरा बढी प्रचार भयो र पर्यटक आगमन बाक्लिन थाल्यो । त्यसअघि पनि पर्यटक आउँथे तर निकै कम संख्यामा । हुन त पोखरामा कालोपत्रे सडकको इतिहास पनि लामो छैन । 


पछिल्लो २५ वर्षयता यहाँको सहर निकै बाक्लो बन्न थाल्यो । मान्छेको भीड बढ्यो । सडक फराकिला बन्दै गए । अन्य भौतिक संरचना पनि विकास भए ।

 

पोखराका चोकमा राखिएको ट्राफिक लाइट धेरै समय चलेन । स्मार्ट सिटीको बखान गरेर नथाक्ने जनप्रतिनिधिले पोखरालाई स्मार्ट व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

 

त्यसको मुख्य उदाहरण हो, सिर्जना चोकको अकासे पुल । पोखराका लागि यो अकासे पुल नयाँ र नमुना योजना हो । तत्कालीन स्व. रवीन्द्र अधिकारीको अगुवाइमा सिर्जना चोकमा अकासे पुल निर्माणको चर्चा गरिएको हो ।

 

२०७५ मंसिरमा अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समितिमार्फत संघ सरकारमा यो योजना प्रस्ताव गरे । सुरुमै अधिकारीले ५० लाख विनियोजन गरेका थिए । 

 

पोखरा महानगरले यो कार्यक्रममा साझेदारी ग¥यो । वडा नम्बर ८ मा पर्ने यो चोकमा २०७६ मंसिरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुलको शिलान्यास गरे । 

 

यसमा महानगरले २ करोड ३० लाख रुपैयाँ लगानी गर्दै छ । ६ महिनामा बनाइसक्ने लक्ष्य राखिएको पुल डेढ वर्ष बित्न लाग्दासमेत बनेन । लामो समय पोल गाडेर अलपत्र छाडिएको पुलको कामले बल्ल गति लिएको छ । पुलको एक स्थानबाट प्रवेश गरेपछि चारै दिशातर्फ जान मिल्ने गरी स्टिल संरचना बन्नेछ । 

 

महानगर प्रमुख मानबहादुर जिसीले प्राविधिक डिजाइनमा आएको त्रुटिले काम ढिलो भएको दाबी गरे । ‘पुलभन्दा माथि बिजुलीको तार जानुपर्ने रहेछ । पहिलेको डिजाइनमा तार पुलभन्दा मुनि प¥यो’, उनले भने, ‘अहिले डिजाइन सच्याइयो । सोहीअनुसार काम सुरु भएको छ ।’


पृथ्वीचोकमा बनेन, सिर्जनाचोकमा बल्ल सुरु

 

तत्कालीन समय महानगरले सिर्जनाचोकसहित पृथ्वीचोकमा पनि सँगै पुल बनाउने गरी डिजाइन बनायो । सिर्जनाचोकमा १ करोड ८० लाख र पृथ्वीचोकमा २ करोड ४१ लाख रुपैयाँ लागत लाग्ने स्टिमेट निकालियो ।

 

पृथ्वीचोकको योजना अघि बढेन । चोक आसपास खुला ठाउँ नभएको र पोल राख्ने जग्गा नपाएका कारण त्यहाँ पुल बनाउन नसकिएको महानगरले जनाएको छ । 

 

तर, सिर्जनाचोकमा समेत खुला ठाउँ छैन । निकै साँघुरो जग्गामा पोल गाडिएको छ । दुर्घटना न्यूनीकरणका लागि बनाइएको पुलमुनि दुर्घटना बढ्ने धेरैको आकलन छ । पुल बन्दाबन्दै दिनहुँ जसो पोलमा गाडी ठोक्किन थालेका छन् ।

 

महानगरले २०६६ देखि नै नगरका मुख्य चोकमा अकासे पुल निर्माण गर्ने निर्णय गर्दै आएको थियो । अहिलेसम्म त्यो निर्णय कार्यान्वयन भएको छैन । 

 

अहिलेको अवस्थामा पनि सिर्जनाचोकभन्दा पृथ्वीचोक बढी व्यस्त हुन्छ । ३ वटा राजमार्गको संगम हो, यो चोक । धेरैले सिर्जनाचोकको सट्टा पृथ्वीचोकमा पुल बनाउन सुझाए । महानगरले सुनेन ।

 

सिर्जनाचोकको पुल सामान्य बाटो बनाउँदा पनि भत्काउनुपर्छ । यो पुल लामो समय नचल्ने स्वयं जनप्रतिनिधि नै बताउँछन् । धेरै समय चल्नेमा डिजाइन गर्ने प्राविधिक र कर्मचारी पनि ढुक्क छैनन् ।

 

अहिले बिरौटादेखि सिर्जनाचोकसम्मको बाटो फराकिलो बनाउने क्रम सुरु भएको छ । यो बाटो बन्ने बेलासम्म पुल हटाउनुपर्छ । कामको गति हेर्दा पुलभन्दा पहिले बाटो बन्ने अवस्था देखिएको छ । त्यसैले बनाउँदा-बनाउँदै निकाल्नुपर्ने अवस्था आउन सक्छ । यसतर्फ कसैले चासो दिएका छैनन् ।