close

बरेङका सबै वडामा स्वास्थ्य सेवाको पहुँच

बरेङका सबै वडामा स्वास्थ्य सेवाको पहुँच

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको बरेङ गाउँपालिकाले सबै वडामा आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ । 


गाउँपालिकाले प्रत्येक आधा घन्टाको दूरीमा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।


नागरिकको आवश्यकताअनुसार साविकका स्वास्थ्य संस्थाहरूको परिचालन र अपुग रहेको ठाउँमा आन्तरिक स्रोत परिचालनमार्फत स्वास्थ्य इकाइ स्थापना भएको उनले जानकारी दिए ।

 

जनघनत्वलाई समेत ध्यानमा राखेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालिएको थापाको भनाइ छ । ‘सामुदायिक स्वास्थ्य इकाइ थप गरेर स्वास्थ्य सेवालाई पहुँच योग्य बनाएका छौँ’, थापाले भने ।

 

साविक स्वास्थ्य संस्था रहेका वडामा समेत नागरिकको पहुँच कम रहेका बस्ती नजिकै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएका छन् । गाउँपालिकाका ४ वटा वडामा ५ वटा स्वास्थ्य इकाइ थप गरेर स्वास्थ्य सेवा विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख पदम पुनले जानकारी दिए ।


गाउँपालिकाले वडा नम्बर १ धुल्लुबाँस्कोटको लुरुङ र गँडेल, वडा नम्बर २ हुग्दीशिरको बराहकोट, वडा नम्बर ३ बाटाकाचौरको साग्दी, वडा नम्बर ४ सल्यानको थप्लुङमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिसकेको छ ।


प्रत्येक स्वास्थ्य इकाइमा १ जना अनमी र १ जना अहेब दरबन्दी कायम गरी जनशक्ति व्यवस्थापन गरेको शाखा प्रमुख पुनले बताए ।

 

नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन पालिकाले आन्तरिक स्रोतबाट औषधी तथा जनशक्ति व्यवस्थापन गरेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिइन् ।

 

‘स्वास्थ्यकर्मीको तलब-भत्ता व्यवस्थापनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ’, पुनले भनिन् ।

 


प्रत्येक स्वास्थ्यकर्मीलाई २० हजार रुपैयाँको दरले तलब उपलब्ध गराउँदा १३ महिनाको तलबसहित २६ लाख रुपैयाँ खर्च हुनेछ । बाँकी रकम पालिकाले नै व्यवस्थापन गर्नेछ । 

 

स्वास्थ्य इकाइमा आवश्यक पर्ने औषधी खरिदका लागि पालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको पुनको भनाइ छ ।


न्यूनतम ८० घरधुरी वा ८ सय जनसंख्या भएको क्षेत्रमा एउटा स्वास्थ्य इकाइ थप्ने कार्यविधि गाउँपालिकाले बनाएको छ । वडा नम्बर ५ इकाइ थप गर्न जनसंख्या पुगेको छैन ।

 

त्यहाँको भौगोलिक अवस्था र जनताको सुविधालाई ध्यानमा राखेर सेवा विस्तार प्रक्रिया थालिएको स्वास्थ्य शाखा प्रमुख पुनले बताए । 


‘जतिसक्दो स्वास्थ्य सेवालाई गाउँ-गाउँ पुर्‍याउने लक्ष्य राखेका छौँ,’ गाउँपालिका प्रमुख कृष्णप्रसाद शर्माले भने । सामान्य सिटामोल खानासमेत घन्टौँ हिँड्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले सेवा विस्तार गरेको उनले दाबी गरे ।