close

राष्ट्रिय परिचयपत्रका लागि उदयपुरमा ७० हजारको विवरण संकलन

राष्ट्रिय परिचयपत्रका लागि उदयपुरमा ७० हजारको विवरण संकलन

Trulli
ADVERTISEMENT

उदयपुर- राष्ट्रिय परिचयपत्रका लागि हालसम्म उदयपुरका  ७० हजारको विवरण संकलन गरिएको छ । उदयपुरका तीन वटा संकलन केन्द्रबाट माघ मसान्तसम्ममा ६९ हजार ५३० जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

उदयपुरमा गत पुस ११ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य सुरु भएको थियो ।

 

जिल्ला प्रशासन कार्यालय गाइघाटबाट मात्र विवरण संकलन कार्य थालिएकोमा विवरण भराउने नागरिकको चाप बढेपछि त्रियुगा र कटारी नगरपालिकामा समेत संकलन केन्द्र थपेर विवरण संकलन गर्न थालिएको छ । 

 

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चक्रपाणी पाण्डेका अनुसार हालसम्म जिल्ला प्रशासनबाट ४ हजार ५८ जना, त्रियुगा नगरपालिकाबाट २६ हजार १५ जना र कटारी नगरपालिकाबाट २९ हजार ४५७ जनाको विवरण संकलन गरिएको छ । 

 

नागरिकले आ-आफ्नो गाउँ तथा नगरपालिकाका वडा कार्यालय तथा तोकिएको पायक पर्ने केन्द्र मार्फत विवरण भर्न सक्ने व्यवस्था गरिएको प्रजिअ पाण्डेले बताए । परिचयपत्रका लागि सदरमुकाम बाहिरका सेवाग्राहीले पनि जिल्ला प्रशासन आएर विवरण फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।  

 

सदरमुकाममा पेसा व्यवसाय गरी बसेकाहरूलाई परिचयपत्र लिन सहज होस् भनेर सक्कल नागरिकताको प्रमाणपत्र लिएर आए प्रशासनबाटै विवरण भरेर परिचयपत्रका लागि नाम दर्ता गराइने प्रजिअ पाण्डेले बताए ।  

 

राष्ट्रिय परिचयपत्र विवरण भर्दा सक्कल नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ । विवरणमा १० औंलाको छाप, फोटो, आँखाको रेटिना, र अन्य व्यक्तिगत विवरणसमेत भर्नुपर्ने प्रावधान छ ।

 

उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् । त्यस मध्ये त्रियुगा र कटारीमा धमाधम विवरण भर्ने काम भइरहेको हो । 

 

चौदण्डीगढी नगरपालिकामा पनि टोली परिचालन गर्ने तयारी भइरहेको प्रजिअ पाण्डेले बताए । त्यसपछि बेलका नगरपालिका, रौतामाई, उदयपुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिकामा पनि परिचयपत्रको विवरण लिन टोली पठाइने उनले बताए ।