close

घारखोलाको पुल: ठेक्का लागेको एक वर्षपछि बल्ल निर्माण सुरु 

घारखोलाको पुल: ठेक्का लागेको एक वर्षपछि बल्ल निर्माण सुरु 

Trulli
ADVERTISEMENT

म्याग्दी– ठेक्का सम्झौता भएको एक वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीले ठेक्का लगाएको १ वर्षपछि पुल निर्माण सुरु भएको हो । 

 

पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले शिलान्यास गरे । ३ करोड ४८ लाख ९४ हजार ७० रुपैयाँ लागत अनुमानको पुल निर्माण गर्न फेवा–बीएम जेभी पोखराले २ करोड ८१ लाख ७८ हजार ६ सय ४६ रुपैयाँमा ठेक्का लिएको छ । 


१७ माघ २०७६ मा ठेक्का सम्झौता भएको पुल २४ साउन २०७८ मा सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि पुल निर्माण सुरु भएको हो ।  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए । 

 


‘सम्झौतालगत्तै पुल निर्माण गर्ने ठाउँमा लगेका मेसिन २ महिनासम्म खोला किनारमै राखेर फिर्ता गर्नुपर्‍यो’, उनले भने, ‘प्राधिकरणले गत भदौमा नयाँ डिजाइन स्वीकृत गरेर कार्यादेश दिएपछि अहिले काम सुरु गरेका छौँ ।’ पुलको पाउद्वारतर्फको पिलर निर्माण सुरु गरेको निर्माण कम्पनीले पोखरेबगरतिरको पिलरको जग खन्ने तयारी गरेको छ । 

 

२५ मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटरको डीपीआर बनाएको थियो । सोही डीपीआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए । 

 

घारखोलामा पुल नहुँदा २ सय घरधुरीको बसोबास रहेको ४ वर्षअघि सडक पुगेको पाउद्वार गाउँमा बर्खामा यातायात सम्पर्कविच्छेद हुने गरेको छ । घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्छ’, वडाध्यक्ष तिलिजाले भने, ‘सडक भए पनि पुल नहुँदा पैदल यात्रा गर्न र घोडा–खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।’

 

भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डीपीआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनः डिजाइन गरेर काम अघि बढाएको इकाइका प्रमुख नारायण ढकालले जानकारी दिए ।


‘डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन लागिएको छ’, उनले भने, ‘ठेकेदारले पनि कामलाई तीव्रता दिएका छन् ।’ परामर्शदाताले एउटा ठाउँको योजनाको डीपीआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण प्रभावित भएको हो । 


शिलान्यास कार्यक्रममा निवर्तमान सांसद थापाले रद्ध हुने अवस्थामा पुगेको पुललाई धेरै मिहिनेत गरेर कार्यान्वयनको अवस्थामा ल्याइएको बताए । घारखोलामा मोटर चल्ने पक्की पुल निर्माणपछि नेपाने, पाउद्वार, किन्दु, स्वाँताका बासिन्दालाई सुविधा पुग्नेछ । 

 

उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलगायत सहभागी थिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पोखरेबगरदेखि घार–खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मंसिर देखि काम भइरहेको छ । 

 

ठेकेदारले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न नसकेका कारण सम्झौताको म्याद सकिए पनि करिब आधा मात्र भौतिक प्रगति भएको छ ।