close

सडक यातायातमा जोडिँदै लालझाडी (भिडियाे खबर)

सडक यातायातमा जोडिँदै लालझाडी (भिडियाे खबर)

ADVERTISEMENT

कञ्चनपुर- कञ्चनपुरको दुर्गम लालझाडी गाउँपालिकाको प्रमुख सडकको रूपमा रहेको वाणी-देखतभूली-कञ्ज-शंकरपुर-पचगडिया-वाइसेबिचवा सडकअन्तर्गतको ५ किलोमिटर सडक निर्माण अघि बढेको छ छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरद्वारा निर्माण भइरहेको सडकको काम अघि बढेको हो ।

 

२०७७ कात्तिकमा सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले शिलान्यास गरेको वाणी-देखतभूली-कञ्ज-शंकरपुर-पचगडिया-वाइसेबिचवा सडक निर्माण धमाधम भइरहेको छ । गाउँपालिकाकै महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको यो सडकप्रति स्थानीयदेखि गाउँपालिकाकै आशा जोडिएको छ ।

 

त्यति मात्र नभई सडकअन्तर्गत दोदा नदीमा समेत समयमै पुल निर्माण हुन सके गाउँपालिकालगायतका जनताको राजमार्गसँग पहुँच पुग्ने लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले बताए ।


यसैगरी सडक निर्माणका क्रममा कार्यालयले समय- समयमा निरीक्षण गर्दै आएकाले गुणस्तरीय काम भइरहेको र प्रथम चरणको काम समयमै सम्पन्न हुने कञ्चनपुर पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगीले जानकारी दिए ।

 

कच्ची, धुलो र धुँवा मात्र नभई खाल्डाखुल्डीले यात्रा नै असहज भइरहँदा सडक बन्दा यात्रामा सहयोग पुग्ने स्थानीय राजेश पाल बताउँछन् ।

 

१० करोड १० लाख १७ हजार दुई सय ३५ रुपैया ५७ पैसा लागत अनुमान रहेको सडक २०८० असारभित्र काम सम्पन्न हुने गरी के एस कन्स्ट्रक्सन प्रालि धनगढीसँग ६ करोड २ लाख २४ हजार २ सय १५ रुपैयाँ ७४ पैसामा ठेक्का सम्झौता गरिएको छ ।