close

अब दिप्रुङका सबै विद्यालयमा दिवा खाजा 

अब दिप्रुङका सबै विद्यालयमा दिवा खाजा 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने तयारी थालेको छ ।


खाजाकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै शिक्षा तथा प्रविधि मन्त्रालयबाट प्राप्त ससर्त अनुदानबाट गाउँपालिकाले विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने निर्णय गरेको हो ।


आइतबार बसेको गाउँ शिक्षा समितिको बैठकले साता दिनपछि पालिकाका ४८ विद्यालयका बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ३ हजार ५४ विद्यार्थीका लागि दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 


दिवा खाजाको व्यवस्थापनका लागि शिक्षा तथा प्रविधि मन्त्रालयले चालू आर्थिक वर्ष गाउँपालिकालाई ८४ लाख २४ हजार रुपैयाँ बजेट उपलव्ध गराएको छ । प्राप्त बजेटबाट वर्षमा १८० दिन खाजा खर्चबापत दैनिक जनही १५ रुपैयाँका दरले विद्यार्थीलाई रकम उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।


४ वर्षदेखि ९ वर्ष उमेर समूहका विद्यार्थीलाई विश्व खाद्य संगठनले निर्धारण गरेको मापदण्डका आधारमा दैनिक आवश्यक क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, फ्याट, आइरनजस्ता पोषक तत्त्वको मात्रा मिश्रण गरी खाजा उपलब्ध गराउने तयारी छ ।


दिवा खाजामा बिस्कुट, चाउचाउजस्ता जंकफुड निषेध गरिएको छ । बृहत् पोषक तत्त्वतर्फ विद्यार्थीलाई दैनिक १ हजार ८ सय ५० क्यालोरी आवश्यक पर्नेमा दिवा खाजाबाट ५ सय ५५ क्यालोरी आपूर्ति गराउने, दैनिक ५७ प्रोटिन आवश्यक पर्नेमा दिवा खाजाबाट १७ प्रोटिन उपलब्ध गराउने र दैनिक ४८ फ्याट आवश्यक पर्नेमा दिवा खाजाबाट १४ फ्याट आपूर्ति गराउने गरी दिवा खाजा बाँड्ने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणि गिरीले बताए । 


यस्तै, सूक्ष्म पोषक तत्त्वतर्फ दैनिक १ सय २० आयोडिन आवश्यक पर्नेमा दिवा खाजाबाट ३६ आपूर्ति गराउने, दैनिक १७.८ आइरन आवश्यक पर्नेमा दिवा खाजाबाट ५.४ आपूर्ती गराउने, दैनिक ११.२ जिंक आवश्यक पर्नेमा दिवा खाजाबाट ३.४ आपूर्ति गराउने, दैनिक ३३ भिटामिन ‘ए’ आवश्यक पर्नेमा दिवा खाजाबाट ११ र दैनिक १२ भिटामिन ‘बी’ आवश्यक पर्नेमा दिवा खाजाबाट ४.१ पोषक तत्त्वको मात्रा पुरा हुने किसिमका खाजा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । 


विद्यार्थीले बिदाको दिन भने दिवा खाजा पाउने छैनन् । विद्यार्थीको नियमितताका लागि सरकारले दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।


‘खाजाकै कारण कतिपय विद्यार्थी टिफिनपछि कक्षा छाड्छन् । कतिपय स्कुल नै आउँदैनन्,’ अध्यक्ष राईले भने, ‘खाजाकै कारण विद्यार्थी स्कुल बाहिर नहोउन् । विद्यालयमा नियमित उपस्थिति होउन् र शिक्षण सिकाइमा असर नपुगोस् भन्ने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम ल्याइएको हो ।’ 


गाउँ शिक्षा समितिको बैठकले आगामी २० र २१ चैतमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता गर्ने, आगामी शैक्षिक रणनीति तयार गर्न गाउँपालिकाका ४८ वटै विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नेलगायत निर्णय गरेको छ ।