close

रौतामाईका सुत्केरीलाई घरघरमै कोसेली 

रौतामाईका सुत्केरीलाई घरघरमै कोसेली 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको रौतामाई गाउँपालिकाको सिंगो प्रशासन पालिकाभर कोही सुत्केरी भइहाले कोसेली लिएर भेट्न पुग्छ । कोसेली लिएर सुत्केरी आमा र नवजात शिशुलाई भेट्न पालिकाका उपाध्यक्ष कुमारी रानाज्यू ठकुरी आफैं घरघर पुग्न थालेकी हुन् ।


पालिकाले मातृशिशु मृत्युदरलाई कम गराउँदै सुरक्षित रूपमा अस्पतालमै गएर बच्चा जन्माउनुपर्छ भन्ने सन्देश दिन रौतामाईका ८ वटै वडामा पुगेर सुत्केरीसँग भेटघाट कार्यक्रम राखेको हो । 

 

पालिकाले सुत्केरी आमा तथा नवजात शिशुलाई कुखुराको भाले, १ किलो घ्यू, ५ सय ग्राम ज्वानो, ३ सय ग्राम मेथी, १ किलो सख्खर, ५ पिस नुहाउने साबुन, ५ पिस लुगा धुने साबुन, १ किलो सर्फ, टाबेल, २५ किलोको १ प्याकेट चामल, सुत्केरी आमालाई सुतीको साडी, नवजात शिशुलाई बाबासेट, ब्ल्यांकेटलगायत कोसेली प्याकेज वितरण गर्दै आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बबिता परियारले बताइन् ।


सुत्केरी भेटघाट कार्यक्रमले आमालाई आत्मसम्मानका साथै प्रोत्साहन मिल्ने र परिवारका सदस्यलाई समेत सुत्केरी आमा र बच्चाप्रति थप जिम्मेवारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको प्रमुख परियारले बताइन् ।


‘नागरिकलाई नजिकको सरकारको रूपमा अपनत्व गराउँदै सामान्य तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई समेत सुत्केरी उकास्न सहयोग पुगोस् भनेरै उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम ल्याइएको हो । यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइनेछ’, पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले भने । 


स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउन सहयोग पु¥याउने हिसाबले पालिकाले यस्तो अभियान थालेको हो । रौतामाईमा सुरक्षित रूपमा स्वास्थ्य चौकीमै गएर सुरक्षित सुत्केरी गराउने दर बढेको पाइएको छ ।

 

गाउँपालिकाभर १ वर्षमा २ सयले स्वास्थ्य चौकी गएर सुरक्षित सुत्केरी गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले जानकारी दिए । 


रौतामाई गाउँपालिका वडा नम्बर २ ओख्रेनीकी २४ वर्षीय भीमा मुक्तान १ महिनाकी सुत्केरी हुन् । आर्थिक अवस्था कमजोर हुँदा सुत्केरी उकास्ने जोहो पनि थिएन, उनीसँग । तर, २ दिन अगाडि स्वास्थ्य चौकी भुट्टारबाट खबर गयो– तपाईं स्वास्थ्य चौकीमा आएर सुरक्षित सुत्केरी हुनु भएकामा पालिकाले कोसेली दिँदै छ । 

घरमै पालिकाले सुत्केरी भेट्न कोसेली लिएर आएपछि मुक्तानको अनुहार मात्र उज्यालिएन, गहभरि आँसु पनि टिल्पिलाए । उनले भनिन्, ‘गरिबलाई हेर्ने पालिका रहेछ, । पालिकाले सुुरक्षित सुत्केरी हुने ३६ जना सुत्केरी आमालाई कोसेली दिएका थिए । उनीहरूलाई ‘सुत्केरी कोसेली’ वितरण गर्दा मुक्तानजस्तै अन्य सुत्केरीले पनि खुसी व्यक्त गरे ।’ 


रौतामाईको आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रमअन्तर्गत ‘उपाध्यक्षज्यूसँग सुत्केरी भेटघाट कार्यक्रम’ सुुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले जानकारी दिए ।


उनका अनुसार सुत्केरी महिलालाई प्रतिसुत्केरी ७ हजार ५ सय रुपैयाँ बराबरको सामग्री दिइयो ।


सुत्केरी भेटघाटका लागि यस वर्ष पालिकाले ५ लाख रुपैयाँ बराबरको कोष बनाएको छ भने बहुक्षेत्रीय पोषण योजना कार्यक्रमले सोही कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।


उपाध्यक्ष कुमारीज्यू ठकुरीले गर्भवती अम्बिका मगरलाई सुत्केरी सामग्री हस्तान्तरण गर्दै कार्यक्रम सुरु गरिएको थियो । घर–घरमा पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक परामर्शसहित कोसेली बाँडियो ।