close

मनै लोभ्याउने देउताको स्वर्ग 

मनै लोभ्याउने देउताको स्वर्ग 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– समुद्री सतहबाट ३ हजार ५ सय मिटर उचाइको हिमाली क्षेत्रमा वरपर घना जंगलबीच लोभलाग्दो फराकिलो समथर मैदान । छेउमै टल्किरहेको जुगल हिमशृंखला ।

 

तलतिर बगिरहेको कञ्चन खोला । कलात्मक पहाड पर्वत, हिमाली काखमै रंगीन बनाएर फुलिरहेका अनेकन लेकाली फूल अनि जडीबुटी, समथर भेग होस् या ठाडो पहाड । सबैतरि चरिरहेका याक अनि चौँरीका बथान । एकै ठाउँ यस्तो दृश्य भेट्न मुस्किल पर्छ ।

 

तर, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित नेमेमासालमा भने यस्तो दुर्लभ दृश्य नांगो आँखाले नै हेर्न सकिन्छ । त्यसैले पनि नेपेमासाललाई देवताको स्वर्ग भनिन्छ । राजधानी काठमाडाैंबाट करिब १ सय ४० किलोमिटर दूरीमा रहेको हिन्दु र बौद्ध धर्मको संगम स्थल नेपामासाललाई प्रसिद्ध तीर्थस्थलका रूपमा लिइने गरेको छ ।

 

बौद्ध धर्मग्रन्थअनुरूप ने भनेको तीर्थस्थल, पेमाको अर्थ कमलको फूलजस्तै र साल भने रंगले सजिएको वा वरिपरि सेतो रंगले सजिएको कमलको फूल आकारको तीर्थस्थल उपत्यका भनेर अथ्र्याइएको मानिन्छ ।

 


शाक्यमुनि बुद्धपछिका दोस्रो बुद्ध भनिएका पदमसम्भव गुरु रेन्पोछेले आफ्नो वचनमा विश्वभर उत्तम दश भूमिमध्ये नेपामासाल पहिलो रहेको उल्लेख गरेको र यहाँ आएर लामो समय तपस्या गरेर गुम्बा बनाएको जनश्रुति प्रचलित छ ।

 


यो जुगल हिमशृंखलाको आधार क्षेत्रमा पर्छ । अनेकौँ प्राकृतिक छटाले भरिपूर्ण भएकै कारण अहिले यो क्षेत्रमा जाने पर्यटकको संख्या बढ्दै गएको छ । नेपेमासाल पर्यटकको नयाँ गन्तव्यको रूपमा परिचित हुँदै गएको पर्यटन व्यवसायी मिलन तामाङ बताउँछन् ।

 


केही वर्षदेखि थालिएको जुगल हिमाल आरोहणले पनि यो क्षेत्रको प्रचारमा सघाएको छ । नेपमासाल क्षेत्रको पर्यटन विकास पछिल्लो चरणमा तीव्र रूपमा हुँदै गएको छ  
‘जुगल हिमाल र नेपेमासालको सौन्दर्यले पर्यटकलाई तान्न थालेपछि यहाँ आन्तरिक पर्यटक बढेका छन् । २ पटकको आरोहणपछि आरोही यहाँ आउने क्रम बढ्दो छ,’ उनले भने ।


२९ चैत २०७५ मा जुगल हिमशृंखलाको ११ वटा चुचुरामध्ये ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिकको पहिलो पटक आरोहण गरिएको थियो । गत ३ कात्तिकमा काठमाडौंबाट आएको टोलीले ७ दिनमा दोस्रो पटक आरोहण गरेको उनले बताए ।

 

जुगल गाउँपालिकाले पर्यटकीय गुरुयोजनामा हिमाल क्षेत्रसम्म पुग्ने पदमार्ग निर्माणसँगै १ हजार जना अट्ने गुफा, छेन्दाङ, नेपेमासाल, बुम्बाशेर्बु, नेखर्क, ज्युठी, ब्रह्मायणी नदीलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा राखेको छ ।


५ हजार मिटरको ज्युठी, ४५ सय मिटरको ग्यापखर्क, ४२ सय मिटरको बुम्बाशेर्बु, ४५ सय मिटरको श्याबल पोखरी, ३३ मिटरको तोङक्युप गुफा र ३५ सय मिटरको नेपामासाललाई गन्तव्य बनाएर दोस्रो पटक जुगल सफल आरोहण सकेको जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताइन् । 

 

‘२ पटकको आरोहणसँगै जुगल क्षेत्रलाई विश्वभर चिनाउन अनेक अभियान र योजना अगाडि बढाएका छौँ,’ उनले भनिन् । यसबाहेक जुगल हिमाल माउन्टेरिङ स्कुल प्रवद्र्धन, नयाँ रुट निर्माणलाई मुख्य उद्देश्यमा राखिएको उनको भनाइ छ ।


हिमाल आरोहण सफल भएपछि यहाँ घुम्न जानेहरू पनि बढेका छन् । राजधानीबाट नजिकै रहेको जुगल हिमशृंखला भएकाले पनि घुमन्ते पारखीको गन्तव्य यो क्षेत्र भएको उपाध्यक्ष सिर्जना सुनाउँछिन् ।