close

मालिका धुरीमा पर्यटकीय पूर्वाधार निर्माण धमाधम 

मालिका धुरीमा पर्यटकीय पूर्वाधार निर्माण धमाधम 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मालिकाधुरीमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । दुवै पालिकाको सिमानामा पर्ने मालिका गाउँपालिकामा प्रदेश, स्थानीय सरकार र समुदायको साझेदारीमा निर्माण भएका पूर्वाधारले पर्यटन विकासमा सहयोग पुगेको छ । 

 

मालिका र रघुगंगा गाउँपालिकाका साथै गण्डकी प्रदेश सरकारमार्फत मालिका धुरी नजिकसम्म सडक पु¥याउने, पदमार्ग निर्माणसँगै अन्य पूर्वाधार निर्माण भइरहेका छन् । 

 

गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालय पर्वतले मालिका गाउँपालिका वडा नम्बर ७ बिम र वडा नम्बर ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण भएको हो ।


कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले १ हजार २ सय ७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए ।  ‘उकालोमा १.५ मिटर चौडाइमा ढुंगा चिनेर र तेस्रोमा ढुंगा बिछ्याइएको छ’, उनले भने, ‘उपभोक्ता समितिले ३९ लाख २० हजार रुपैयाँ भुक्तानी लगेका छन् ।’ देउरालीभन्दा केही माथिबाट मालिका धुरीसम्मै पदमार्ग बनाइएको हो । 


यसैगरी मालिका धुरी परिसरमा ५ सय १० मिटर सुक्खा पर्खाल निर्माण भएको छ । पदमार्गमा प्रयोग गर्ने ढुंगा ओसार्न थप ३ सय मिटर माटो काटेर पदमार्ग बनाइएको छ ।

 

डेढ सय जना स्थानीय युवा १ महिनासम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर पुनले बताए । ‘नजिकै बस्ती नभएकाले जंगलमै बास बसेर पदमार्ग बनायाैँ,’ उनले भने, ‘मजदुरलाई क्याम्प बनाएर राख्नुपर्दा व्यवस्थापनमा पनि खर्च भयो ।’

 

यसअघि उकालो, भिरालो र साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या थियो । पदमार्ग निर्माणपछि सुरक्षित र सहज रूपमा यात्रा गर्न सकिने बिमका पलवीर जुग्जालीले बताए । ‘साँघुरो बाटोमा चिप्लिएर लड्ने जोखिम थियो’, उनले भने, ‘अब भने ढुक्क भएर हिँड्न सकिन्छ ।’


सडक र पदमार्ग बनेपछि मालिकाको यात्रा अवधि छोटिएको छ । मालिका गाउँपालिकाले बिम हँुदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । ८३ लाख रुपैयाँ लागतमा बाइन्दफाँटदेखि धौलागंगा र नागीथलाको बीचसम्म सडक पुर्याइएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।


 
‘बिमबाट अहिले साढे २ देखि ३ घन्टामै मालिका पुग्न सकिन्छ’, उनले भने, ‘पहिलेको तुलनामा आधाभन्दा धेरै यात्रा अवधि घटेको छ ।’ मालिका गाउँपालिकाको वडा नम्बर ७ र ६ तथा रघुगंगा वडा नम्बर ६ को सिमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि ३ हजार ४ सय मिटरको उचाइमा अवस्थित छ । 


रघुगंगा गाउँपालिकाले ठाडाखानीदेखि पहिरेनीसम्म करिब ५ किलोमिटर सडक र बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा ३ किलोमिटर पैदलमार्ग निर्माण गरेको छ । 


२० भन्दा बढी हिमशृंखला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षी अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्त्व छ । दर्शन र पूजाआजा गरे मनोकांक्षा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए । 


‘सन्तान, रोजगारी, शिक्षा, प्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाहरूको चण्डिपूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ’, उनले भने, ‘म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौं, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।’


मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भए बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जंगलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृंखला, म्याग्दीका अधिकांश बस्ती अवलोकन गर्न सकिन्छ । 

 

सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदल यात्रा गर्दा २ दिनमा पुगिने मालिका क्षेत्रको जंगलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो ।

 

गत वर्ष विनियोजन भएको १५ लाख रुपैयाँ बजेटबाट सत्तल र मालिका थान परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण भएको छ । थप पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनका अनुसार खानेपानी व्यवस्थापन र हेलिप्याड निर्माण गर्ने तयारी छ ।