close

त्यसपछि सलसल बग्यो ग्वाङ खोला... (भिडियो खबर)

त्यसपछि सलसल बग्यो ग्वाङ खोला... (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको ग्वाङ खोला धार्मिक आस्थासँग जोडिएको खोला हो । विगतमा ग्वाङ खोला तर्दा पानी अँचाएर तर्ने गरिन्थ्यो । विस्तारै पानी अँचाउन छाडेर नाक थुन्नुपर्ने अवस्था सिर्जना भयो । 

 

अव्यवस्थित सहरीकरण सिकारका कारण ग्वाङ खोलाको अस्तित्व नै मासियो, लुटियो । फोहोरको डंगुरका कारण खोलाले असह्य पीडा सहेर होला,  बग्नै बिर्सियो । त्यही पीडामा स्थानीय सरकार गठन भएसँगै कमलामाई नगरपालिकाले मल्हम लगाउन खोलाको फोहोर टिप्ने काम सुरु गरेपछि खोलाले बल्ल आफ्नो अस्तित्व स्वीकार्दै पुनः बग्न सिक्दै छ । 
 

सिन्धुली सदरमुकाम आसपास हुँदै बग्ने ग्वाङ खोलामा रहेको फोहोर टिप्ने अभियानले खोलालाई पुरानै स्वरूपमा फर्काउँदै छ । फोहोर फ्याँक्ने प्रवृत्तिले खोला नै सुक्ने अवस्थामा पुग्दा कमलामाई नगरपालिकाले चलाएको अभियानले सार्थक रूप लिन थालेको छ । सोही  कारण विगतको भन्दा हाल ग्वाङ खोला स्वच्छ हुँदै गएको छ ।
 

नगरपालिकाले सुरु गरेको सफाइ अभियानलाई सबै वडाबासी र टोल विकास संस्थाले सहयोग गरे ग्वाङ खोलाको पानी उपभोग गर्न मिल्ने देखिन्छ । वडाबासी सचेत नभएसम्म ग्वाङ खोलाको हविगत उस्तै हुने भएकाले नगरपालिकाले ग्वाङ खोला सरसफाइको जिम्मा सम्बन्धित वडालाई दिनुपर्ने स्थानीय तुलबहादुर गुरुङ सुनाउँछन् ।

 

नगरपालिकाले नगरलाई स्वच्छ र सफा बनाउने अभियान थालेको छ । बजार क्षेत्रमा रहेको फोहोर उठाउँदै खोलालाई सफा बनाउन प्रयत्न जारी राखेको नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।