close

जनप्रतिनिधिलाई कहाँ सजिलो छ र !

जनप्रतिनिधिलाई कहाँ सजिलो छ र !

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका कार्यालयभित्र मध्याह्नका बेला हुने थामिनसक्नुको सेवाग्राहीको चाप र उनीहरूकै सेवामा व्यस्त थिइन्, उपप्रमुख शान्ता नेपाल ।

 

उपप्रमुख नेपालले घरायसीदेखि जग्गा विवादसम्मका विषयमा न्यायाधीशको भूमिका निर्वाह गर्दै आएकी छिन् । कोरोना महामारीका कारण ठूल्ठूला योजनाका काम भने नभएको उनी बताउँछिन् ।

 

उपप्रमुखको कार्यक्षेत्र न्यायिक समिति, बजार अनुगमन तथा विकास अनुगमनका काममा नेपाल व्यस्त हुने गरेकी छन् । उनले भनिन्, ‘अहिले महामारीको समय पनि भएकाले सेवाग्रहीका समस्या सुन्ने र समाधान गर्नमै व्यस्त छाैँ ।’ 


सेवाग्रहीको चापका कारण नेपालसँग कुराकानी गर्न निकै समय कुर्नुपर्‍यो । महिला जनप्रतिनिधिको अनुभव सुन्न उनीसँग समय लिइएको थियो । भेट दिनासाथ उनले भनिहालिन्, ‘देख्नलाई मात्र सजिलो हो । जनताको प्रतिनिधि भएर काम गर्न कहाँ सजिलो छ र ?’ 


उपप्रमुख नेपालको दैनिक बिहान ५ बजेबाटै सुरु हुन्छ । नित्य कर्म गर्छिन् । कानुनको विद्यार्थी भएको हुँदा यस विषयमा चासो राख्नु स्वाभाविक भइहाल्यो । त्यसमाथि न्यायिक समितिको जिम्मेवारी उनीमाथि नै छ । स्थानीय तहको न्यायाधीशको जिम्मेवारी वहन गर्दै आएकाले पनि नेपाल बिहान करिब २ घन्टा किताबलाई समय खर्चिन्छिन् ।

 

त्यसलगत्तै नगरका समस्या, विकास अनुगमनमा पुग्ने नेपाल कार्यकक्षमा भने जनताका समस्या र गुनासा सम्बोधन गर्न लाग्छिन् । सुरुआती अवस्थामा समस्या भए पनि अहिले त्यस्तो अप्ठेरो भोग्नु नपरेको उनले सुनाइन् ।

 

उपप्रमुख नेपाल भन्छिन्, ‘घरमा बुहारी भएकाले अहिले मैले घरधन्दामा अल्झनु परेको छैन । त्यसैले जनताको काममा समय दिन भ्याएकी छु । सबै महिला जनप्रतिनिधिलाई काम गर्न सहज हुन्छ भन्नेचाहिँ होइन ।’

 

उपप्रमुख नेपाल २७ भदौ २०२३ मा हालको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा भएको हो । शिक्षित परिवारमा जन्म भएकाले पढाउन छोराछोरीमा कुनै विभेद भोग्नुपरेन । उनका बुबा सनातन उपाध्याय नेपाल प्रहरीको अनुसन्धान विभागमा काम गर्थे । 


नेपालको औपचारिक शिक्षा गोकर्णमा आधारभूत तजेलु भवानीबाट सुरु भयो । त्यसपछि गोकर्ण मावि, सहयोगी मावि हुँदै २०३८ मा उनले चामुण्डा स्कुलबाट दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।


त्यतिबेला उनले पढ्ने विद्यालयको पोसाक अकासे रङको सर्ट र नीलो फर्क थियो । आर्थिक अवस्था राम्रो हुनेले स्कुल पोसाक लगाउँथे, न्यून हुने विद्यार्थीले चोलो-फरिया र घाँगर लगाएर विद्यालय जाने गरेको उनको स्मरण छ ।

 

२०३८ माघमा उनका बाबुले गोकर्णमा गोकर्णेश्वर महादेव विद्यालय खोले । एसएलसी पास भएपछि नेपाल बुबाको स्कुलमा शिक्षिका भइन् । त्यतिबेला उनको तलब जम्मा २ हजार रुपैयाँ थियो । 

 

१६ वर्षमै विवाह 


उपप्रमुख नेपाल १६ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिइन् । २६ वर्षीय द्वारिकानाथ नेपालसँग उनको विवाह भयो । द्वारिकानाथ स्वास्थ्य विभाग टेकुमा कार्यरत थिए । 

 

उतिबेला सरकारी जागिरेलाई छोरी दिन पाउनु ठूलो कुरा थियो । त्यसैले परिवारले आफूलाई नसोधेरै बिहे छिनिदिएको नेपाल सुनाउँछिन् । सानो उमेरमै बिहे भएपछि घरपरिवारको व्यवस्थापनमा केही असहज लागे पनि श्रीमान् सहयोगी भइदिए । 

 

पशुपतिले कलेजबाट राजनीतिक यात्रा

 

एसएलसी उत्तीर्ण गरेको झन्डै ७ वर्ष (२०४५) पनि उनी पशुपति कलेजमा आईएमा भर्ना भइन् । त्यसपछि उनको राजनीतिक यात्रा सुरु भयो । 

 

पञ्चायती व्यवस्थाविरोधी आन्दोलनले मूर्त रूप लिँदै थियो । कलेजका विद्यार्थी राजनीतिमा सक्रिय थिए । ‘आईए पढ्न जाँदा नयाँ विद्यार्थीलाई युवा नेताले आफ्नो पार्टीको संगठनमा आबद्ध गराउन पहल गर्थे । मचाहिँ कलेजमा नेविसंघको सदस्य बनेँ ।’

 

नेविसंघको सदस्य भएपछि २०४६ को पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भएर लागेको नेपालले बताइन् । ‘विवाहित महिला राजनीतिमा सक्रिय हुन निकै मुस्किल थियो । तर, परिवारको साथका कारण राजनीतमा लाग्न सहज भएको नेपालको अनुभव छ ।


२०४५ मा नेविसंघको सदस्यता लिएर सुरु भएको राजनीतिक यात्राले २०५३ सम्म आइपुग्दा गन्तव्य लिइसकेको थियो । शिक्षण पेसामा रहँदै उनले २०५३ मा नेपाल महिला संघ गोकर्ण इकाइ अध्यक्षको भूमिकामा राजनीतिमा सक्रिय भइन् ।


२०६४ मा उनी ३ नम्बर क्षेत्र महिला विभाग प्रमुखको रूपमा सक्रिय भइन् । २०६७ मा कांग्रेसको महाधिवेशनमा ३ नम्बर क्षेत्रको पार्टी सचिवको जिम्मेवारी निर्वाह गरेको नेपालले बताइन् ।

 

क्षेत्रीय सचिव भएका कारण २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट दिएपछि गोकर्णेश्वर नगरपालिकाको उपप्रमुखको जिम्मेवारी नेपालको काँधमा आइपुगेको हो । जनप्रतिनिधि भएर जनताको सेवा गर्नुलाई समाजसेवा ठान्छिन्, नेपाल ।