close

पशुपतिनाथमा राष्ट्रपति भण्डारीको क्षमापूजा

पशुपतिनाथमा राष्ट्रपति भण्डारीको क्षमापूजा

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरी सुनको जलहरि राख्ने भएकी छन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिंगमा रहेको जलहरि जीर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि जान लागेकी हुन् ।

 

विभिन्न पक्षको विरोधबीच पशुपतिनाथ मन्दिरमा जलहरि निर्माण हुँदै आएको छ । जलहरि राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण आएका छन् । उनीहरूले २ दिनयता पूजापाठ गरिरहेका छन् ।

 

यस्तै भागवत आश्रम र पशुपतिकै १ सय २१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार राष्ट्रपतिले बुधबार क्षमापूजा गरेपछि जलहरि राखिनेछ । यसअघि चाँदीको जलहरि रहेकामा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरि राख्न लागेको हो ।

 

पशुपतिनाथमा राखिने जलहरिका लागि करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी ओलीले सरकारको तर्फबाट ३० करोड रुपैयाँ दिने निर्णय गरेका थिए । 

 

यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरि राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा २ वटा रिट दर्ता भएका छन् । तर, मुद्दा परे पनि आदेश आउनुअघि नै निर्माण सक्ने गरी काम भइरहेको स्रोतको भनाइ छ । 


पशुपतिनाथको शास्त्रीय महत्त्व र प्राचीन स्मारक संरक्षण ऐनविपरीत जलहरि राख्न लागेको भन्दै स्थानीय, सम्पदा संरक्षण अभियन्ता, पशुपतिका भण्डारीलगायतले विरोध गर्दै आएका छन् ।

 

२०७० मै चाँदीको जलहरि हटाएर सुनको राख्ने निर्णयको विरोध भएपछि यो कार्य पर धकेलिँदै आएको थियो ।


विवादका बीच बुधबार पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदै छ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँ-ठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर, पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो ।

 

कोषले पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निर्णय गरिसकेको छ । कोषका अनुसार जलहरिका लागि १ सय ८ केजी सुन लाग्ने अनुमान छ । 

 

बसाहा र छानामा समेत गर्दा १ सय ४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

शास्त्रीय मान्यता एवं परम्पराअनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ । यो परम्पराविपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीले यसको विरोध गरिरहेका छन् ।