close

नेपालमै कोरोना उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु

नेपालमै कोरोना उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं - कोरोना भाइरसको हालसम्म कुनै खोप र औषधी पत्ता नलागे पनि संक्रमितको उपचारमा विकल्पका रुपमा प्रयोग हुने फ्याभिपिराभिर २०० को नेपालमै उत्पादन सुरु भएको छ । 


देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना रोकथामको औषधी फ्याभिपिराभिर २०० उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाका संक्रमित नेपालमा पनि बढ््दै गएका छन् । विश्वका ठूला देशहरू कोरोनाको भ्याक्सिन उत्पादन र परीक्षणमा क्रियाशील छन् । यद्यपि, कठिन परिवेशमा संक्रमितको उपचारका लागि रमडेसिभार, फ्याभिपिराभिरलगायत औषधीको प्रयोग हुँदै आएको कम्पनीको भनाइ छ ।

 

कोरोनाको एन्टिभाइरलको रुपमा विश्वका धेरै मुलुकहरूले फ्याभिपिराभिर औषधीको प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।  हालसम्म यो औषधीको वैकल्पिक प्रयोगका लागि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले क्लिनिकल प्रयोगका लागि अनुमति दिएका छन् । स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग अनुमति लिई नेपालमै यसको उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए । ‘कोरोनाले मानव स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर परेकामा हामीले यसको वैकल्पिक औषधीको अभाव कसैलाई नहोस् भनेर उत्पादन सुरु गरेका हौं,’ शर्माले भने । 

 

कम्पनीले औषधी उत्पादनका लागि विभागमा निवेदन दिएको थियो ।  निवेदनपछि गत साउन ६ मा क्लिनिकल प्रयोजनका लागि उपलब्ध गराउने गरी विभागले उत्पादन अनुमति दिएको शर्माले बताए । कोरोना संक्रमितको उपचार प्रयोजनका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानका लागि प्रयोग गर्न सकिने गरी उत्पादन सुरु गरिएको शर्माले जानकारी दिए ।


उनका अनुसार कम्पनीले औषधीको उत्पादन सुरु गरेपछि मन्त्रालयले बनाएको मापदण्डअनुसार आवश्यकतालाई हेरेर अस्पताललाई उपलब्ध उपलब्ध गराउनेछ । ‘विशेषज्ञ वैज्ञानिक र प्राविधिकले ६ महिनादेखि गरेको अध्ययनका आधारमा औषधीको उत्पादन सुरु गरिएको हो,’ शर्माले भने । ३० वर्षअघि स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले हाल ३ सय २० प्रकारका औषधी उत्पादन गरिरहेको छ ।


कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयोजनमा कोभिड–१९ को उपचारका उक्त औषधीलाई परीक्षणका रुपमा अनुसन्धान गर्ने तयारीसमेत भइरहेको जनाएको छ ।