close

फैसलापछि जनप्रतिनिधिको टिप्पणीः अझै पनि भन्छु-केपी ओली आइ लभ यू !

स्थानीय तहका प्रमुख-उपप्रमुखः थोरै हतास, धेरै उत्साही 

फैसलापछि जनप्रतिनिधिको टिप्पणीः अझै पनि भन्छु-केपी ओली आइ लभ यू !

स्थानीय तहका प्रमुख-उपप्रमुखः थोरै हतास, धेरै उत्साही 

Trulli
ADVERTISEMENT

खोटाङ– प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरिन् । संसद विघटनले राष्ट्रिय राजनीतिलाई पक्ष र विपक्षमा बिभाजन गर्‍यो । 


संसद विघटनकै कारण नेकपाको बिभाजन तल्लो कमिटीसम्म पुग्यो । विघटित संविधानसभा पुर्नस्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेपछि ‘फैसला कस्तो आउला’ भन्ने विषय सबैको प्रतिक्षाको विषय थियो । मंगलबार साँझ सर्वोच्चले संसद पुर्नस्थापना गर्ने फैसला गरेपछि कतियले खुसीयाली मनाइरहेका छन् । कतिपयले सर्वोच्चको फैसलालाई अस्वाभाविक तर स्वीकार गर्नुपर्ने बताइरहेका छन् । 


संसद पुनर्स्थापनाकाे फैसला लगत्तै खोटाङका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले सामाजिक सञ्जालमार्फत आ-आफ्नो धारणा राखेका छन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेकपाको प्रचण्ड-नेपाल खेमामा लागेका जनप्रतिनिधिले संसद पुर्नस्थापनालाई स्वागतयोग्य भनेका छन् भने नेकपाको ओली खेमामा लागेका जनप्रतिनिधिले संसद पुनर्स्थापनाबाट ‘मात्तिनु वा आत्तिनु’ पर्ने अवस्था नभएको प्रतिक्रिया जनाएका छन् । 


ओली खेमामा खुलेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले ‘न्यायलयले गरेको निर्णयलाई सबैले मानेर जानुपर्ने र देशलाई थप जटिलतातर्फ लैजाने कोसिस कोहीकतैबाट गर्न नहुने’ भनाइ राखेका छन् । 

 

सोही नगरपालिकाका उपप्रमुख बिणादेबी राईले पनि फैसलाप्रति नआत्तिन र नमात्तिन आग्रह गरेकी छन् । ‘राजनीति हो । कोही पनि नआत्तिनु होला र कोही पनि नमात्तिनु होला,’ ओली खेमामा खुलेकी राईले लेखेकी छन्, ‘सर्वोच्चको निर्णयलाई सम्मान गरौँ, जे हुन्छ अब राम्रोको लागि हुन्छ ।’ 


हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख ईवन राईले सर्वोच्चको फैसलाले न्यायलयप्रतिको भरोसा थप चुलिएको बताएका छन् । ‘लोकतन्त्र र विधिको शासनमा आजसम्म कुनै प्रकारको सन्की, निरङकुशता र अधिनायकवाद टिक्न नसकी घुँडा टेकेको गर्विलो इतिहास हाम्रो सामु छ र आज त्यही इतिहासको निरन्तरता सम्मानित सर्वोच्च अदालतले दिएको छ,’ कांग्रेसबाट निर्वाचित राईले लेखेका छन्, ‘जीत सत्य र न्यायको भएको छ, जीत तपाईँ हाम्रो भएको छ ! न्यायलयप्रतिको भरोसा थप चुलिएको छ ।’


हलेसी तुवाचुङकै उपप्रमुख बिमल राईले ‘त्यो ठुलो भीड काम लागेन, ताजा जनादेश अलि पर सरेको छ । न्याय बाँचेको मेरो देश’ लेखेका छन् । 


साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले सर्वोच्चको फैसलाले जनताको जीत भएको बताएका छन् । ‘जे होस् न्याय मरेन । संसद पुनर्स्थापना भयो । जनताको जीत हो यो,’ प्रचण्ड-नेपाल खेमामा खुलेका खड्काले लेखेका छन्, ‘तर प्रतिगमनका मतियारहरुबाट अझ धेरै सचेत हुन जरुरी छ । र अग्रगामी पहल कदमी लिन जरुरी छ ।’ 


बराहपोखरी गाउँपालिकाकी उपाध्यक्ष गोमा मगरले सर्वोच्चले हराएको केपी ओलीलाई हार्न नदिने बताएकी छन् । ‘केपी ओलीलाई सर्वोच्चले हरायो त के भो, हामी कहिल्यै हार्न दिने छैनौं,’ मगरले भनेकी छन्, ‘उहाँ राजनीतिमा कहिल्यै हार्नुहुने छैन । अझै पनि भन्छु, केपी ओली आई लभ यू ।’ 


कांग्रेसबाट निर्वाचित दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राईले ‘प्रम ज्यू, आज रात पर्‍यो । सडक अँध्यारो छ, सडक, पोल, भित्तामा टाँसेको तपाईको फोटोले उज्यालो दिँदैन रे । सडकमा भोलि मात्र आउनु है’ भन्दै व्यंग्य गरेकी छन् ।