close

जिल्ला समन्वय समिति प्रमुख चाम्लिङ सम्मानित 

जिल्ला समन्वय समिति प्रमुख चाम्लिङ सम्मानित 

Trulli
ADVERTISEMENT

खोटाङ- जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ गाउँमै सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङमा जन्मिएर समाजको उन्नति र देशका लागि राजनीतिक क्षेत्रबाट पुर्‍याएको योगदानको कदर गर्दै वडा कार्यालयले जिल्ला समन्वय प्रमुख चाम्लिङलाई सम्मान गरेको हो ।

 

वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लबको आयोजनामा लफ्याङमा सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तरवडास्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटबल प्रतियोगिता उद्घाटन अवसरमा जिसस प्रमुख चाम्लिङलाई सम्मान गरिएको हो ।

 

कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई र वडाध्यक्ष निर्मल राईले चाम्लिङलाई सम्मानपत्र प्रदान गरे ।  विद्यार्थी कालमा युनियन हुँदै अनेरास्ववियु एकताको पाँचौँमार्फत तत्कालीन नेकपा मालेको राजनीति सुरु गरेका चाम्लिङ २०४४ देखि २०४७ सम्म जेल परेका थिए । 

 

पञ्चायत व्यवस्थाविरुद्ध लागेपछि राजनीतिक मुद्दा लगाएर जेल पुर्‍याइएका चाम्लिङ २०४६ को जनआन्दोलन सफल भएसँगै राजबन्दी रिहाइ गर्ने क्रममा २०४७ जेठमा जेलमुक्त भएका थिए ।

 

खेल मैदानका लागि निःशुल्क जग्गा दिने ४ जना दाता सम्मानित 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर ५ लफ्याङमा मझुवागढी रणजितमान राई खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने ४ जना जग्गादातालाई सम्मान गरिएको छ ।

 

मझुवागढी रणजितमान राई अन्तरवडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा वडा कार्यालयले जग्गादाता पञ्चशेर राई, हर्कराज राई, बालाचन्द्र राई र सर्वजीत राईलाई सम्मान गरेको हो । 

 

जग्गादातालाई प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङलगायतले कदरपत्र प्रदान गरेका थिए । खेलमैदान निर्माणका लागि करिब ३० रोपनी जग्गा निःशुल्क प्रदान गरेकामा जग्गादातालाई सम्मान गरिएको वडाध्यक्ष निर्मल राईले बताए । 


खेल मैदानका लागि वडाकै विभिन्न स्थानमा निःशुल्क जग्गा जुटाउने क्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्कंदै गरेको बारीमा ७ जेठ २०७६ मा खेलमैदान शिलान्यास गरिएको थियो ।

 

वडा कार्यालयको १२ लाख ७० हजार रुपैयाँको खर्चमा शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ । 

 

दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने भएकाले खोलमैदानबाट साकेला, दिप्रुङ चुइचुम्मालगायतका खेलाडीसमेत लाभान्वित हुने आर्थिक संकलन सहयोग समितिका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । 

 

१ सय २० मिटर लम्बाइ र ८० मिटर चौडाइ हुने मझुवागढी रणजितमान राई खेलमैदानको डीपीआर तयार भइसकेको छ ।

 

खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातीका समय पनि खेल सञ्चालन गर्न सकिने विद्युत् व्यवस्था, बस, कार तथा मोटरसाइकल पार्किङ स्थल, गेस्ट रुम, चेन्जिङ रुम, वेटिङ रुमसहितको घरलगायतका संरचना निर्माण गर्ने गरी डीपीआर तयार पारिएको वडाध्यक्ष राईले बताए ।

 

आरसीसी कन्सल्ट प्रालिले दर्शक बस्ने स्टेडियमसहितको खेलमैदान २० करोड ९९ लाख ७० हजार २ सय ९३ रुपैयाँमा तयार हुने डीपीआर तयार पारेको हो ।