close

बेनी बगरमा मापदण्डविपरीत डोजर लगाएरै उत्खनन

बेनी बगरमा मापदण्डविपरीत डोजर लगाएरै उत्खनन

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण व्यवसायीले सम्झौता र मापदण्डविपरीत उपकरण प्रयोग गरेर नदीजन्य वस्तु उत्खनन गर्न थालेका छन् । 


वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्दा कटानको जोखिमका साथै जैविक विविधतामा असर परेको छ । 

 

बेनी–जोमसोम सडकको प्रवेशबिन्दुमा पर्ने बेनी-गलेश्वर सडकअन्तर्गत बेनी नगरपालिकाको वडा नम्बर ६ को ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन भइरहेको हो । 

 

अव्यवस्थित रूपमा एक्साभेटर प्रयोग गरेर बगर उत्खनन गर्दा नदी गहिरिने, माछालगायत जलचरको वासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । 

 

जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठूलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि ५ फागुन २०७७ मा २ लाख २५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

 

सोही कम्पनीले बेनीको वडा नम्बर ९ मा पर्ने गलेश्वर-मजुवाको बगरमा उत्खनन र निकासीका लागि ७ लाख १ हजार रुपैयाँमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनियर विमलरञ्जन कार्कीले नदीजन्य वस्तु उत्खननमा हेभी इक्युपमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए । 

 

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राम मन्दिर संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहअनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युपमेन्ट प्रयोग गर्न दिने/नदिने विषयमा जलजला र रघुगंगाका प्राविधिकसँग छलफलको चरणमा रहेको कार्कीले जानकारी दिए । 


साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन गर्दा सम्भव नहुने भएकाले विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपूर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खननमा उपकरण प्रयोग गरेको बताए । 


‘उत्खननमा उपकरण प्रयोग/नगर्ने भन्ने कहीँ उल्लेख छैन’, उनले भने, ‘मजदुर लगाएर निकालेको बालुवा, गिटी र ढुंगाले यति धेरै विकास आयोजनालाई आवश्यक सामान पुर्‍याउन सकिँदैन ।’


नदीजन्य वस्तुको उत्खनन नियमनका लागि जिल्ला स्तरमा रहेको अनुगमन समिति संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी उपकरण प्रयोग गरेर उत्खनन भएकोबारेको सूचना नआएको बताउँछन् ।

 

सम्झौता र ईआई प्रतिवेदनविपरीत नदी बगर उत्खननमा उपकरण प्रयोग गरेको भेटिए कारबाही गरिने उनले दाबी गरे ।