close

माटोको डिजिटल नक्सा तयार गर्ने एसियामै पहिलो बन्यो नेपाल 

माटोको डिजिटल नक्सा तयार गर्ने एसियामै पहिलो बन्यो नेपाल 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेका विभिन्न तत्त्व वा गुण देखाउन जिपिएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । 

 

उक्त नक्साको बुधबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले माटोको डिजिटल नक्सा उद्घाटन गरे । 

 

मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । दक्षिण एसियाका अन्य देशमा पनि यो प्रविधिको माटोको नक्सा तयार भए पनि तिनका केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सीमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो । 

 

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेरबदल नआउने बताए । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको जिकिर गरे ।

 

‘उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता’, संस्कृत श्लोक उद्धृत गर्दै प्रधानमन्त्रीले भने । जस्तोसुकै परिस्थितिमा पनि देश बनाइछाड्ने अभियान रहेको प्रधानमन्त्रीको भनाइ थियो । 


प्रधानमन्त्री ओलीले माटोको डिजिटल म्यापिङले नेपाली कृषिमा नयाँ युगको सुरुआत गरेको जानकारी दिए । ‘माटोमा कुन पोषक तत्त्व छ, कुन छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सक्छन्’, उनले भने । 

 

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्ने पनि प्रधानमन्त्रीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । 


देशमा पर्याप्त उत्पादन भए पनि आयातीत लाम्चो दाना भएको चामल तथा खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनुपर्ने भनाइ उनको छ । ‘हामीसँग प्रशस्त खाद्यबाली छ । तर, हामीलाई लामा सिता भएका पातलो चामल चाहिन्छ । खाने होइन, ज्यूनार गरेजस्तो लाग्ने, भात होइन, भुजाजस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो त्यही माटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो । कुनै धान देख्नुभएको छ, १ इञ्च लामो ? त्यो सब धोका हो । पेलेर लामो बनाइएका हुन् । सब नक्कली हुन् ।’


देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उनले प्रतिशतको तुलना अलि नमिलेको बताए । यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धि गरिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

 

‘ठूलो मात्रामा उत्पादन गरे हामीले निर्यात गर्न बजार पाउँछौँ । तर, त्यसका लागि गुणस्तर, सहज मूल्य र समयमै आपूर्ति गर्न सक्ने क्षमता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने । कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब कृषिमा युवालाई आकर्षित गरिनुपर्नेसमेत बताए । 


सानो परिमाणको उत्पादनले अब विकास नहुने भन्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलको उत्पादनमा जानुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘एक डोको भिन्डी, एक डोको करेला फलाएर बजार पाइएन भन्नु बेकार हो । अब हामी ठूलो मात्राको उत्पादनमा जानुपर्छ । ठूलो मात्राको उत्पादन गर्नुस्, सरकारले बजारको व्यवस्था गर्छ ।’

 

त्यस अवसरमा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको बताइन् ।

 

माटोको विद्युतीय नक्सांकनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ, कुन बालीको उत्पादन राम्रो हुन्छ, कति मल प्रयोग गर्नेजस्ता जानकारी सहजै लिन सक्ने उनको भनाइ थियो । 


आफू ३ वटै मन्त्रालयको नेतृत्वमा गइरहँदा ऐतिहासिक महत्त्व राख्ने महत्त्वपूर्ण कार्य गर्ने अवसर प्राप्त गरेको भन्दै उनले कृषि मन्त्रालयमार्फत दक्षिण एसियाकै पहिलो देश हुने गरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको दाबी गरिन् ।

 

‘सार्क क्षेत्रमै हामीले पहिलो पटक माटोको डिजिटल नक्सा बनाउन सफल भएका छौँ । हामीले नक्सा निर्माण ग¥यौँ’, मन्त्री अर्यालले भनिन्, ‘यसबाट माटोको अवस्था के छ, के गर्दा उत्पादन बढाउन सकिन्छ, गुणस्तरको अवस्था के छ भनेर पत्ता लगाएर त्यसअनुसारको कृषि कर्म अगाडि बढाउन सकिन्छ ।’

 

यो नक्सा कार्यान्वयनमा ल्याउदा कृषि क्षेत्रमा ठूलो क्रान्ति गर्न सकिने उनको भनाइ थियो । 


देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमुना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् ।

 

नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ-संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिनेछ । 

 

कार्यक्रममा मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले दक्षिण एसियामै पहिलो पटक यस प्रकारको प्रविधि प्रयोग नेपालमा ल्याइएको जानकारी दिए । माटो व्यवस्थापनका लागि उक्त डिजिटल नक्सा कोसेढुंगा सावित हुनेसमेत सचिव कार्कीको भनाइ थियो । 

 

नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख डा. दीपक भण्डारीले २१औँ शताब्दी प्रविधिमा नक्साको प्रयोग उदाहरणीय भएको बताए । नक्सालाई मोबाइल एपबाट पनि प्रयोगमा ल्याउने योजनामा रहेकोसमेत प्रमुख भण्डारीले जानकारी दिए ।

 

कार्यक्रममा भिडियो सन्देशमार्फत नेपालका लागि युएसएडकी मिसन प्रमुख सेपिडे केभानसाडले नेपाललाई बधाइ ज्ञापन गर्दै यस प्रकारका सहयोगका लागि युसएड सदैव साथ रहने बताइन् ।