close

संरक्षण अभावले संकटमा चदारो व्यवसाय 

संरक्षण अभावले संकटमा चदारो व्यवसाय 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङमा काठका भाँडाकुँडा बनाउने चदारो व्यवसाय लोपोन्मुख हुँदै गएको छ । धातु तथा रबरका सामान प्रयोग गर्ने क्रम बढेसँगै काठका ठेकाठेकी, कठुवा, तोङबाको भाँडो, दुधेरी, दही जमाउने भाँडो, कुरुवा, हर्पे, गम्भुलगायत सामान बनाउने चदारो व्यवसाय लोपोन्मुख बनेको हो । 

 

चदारोसम्बन्धी सीप भएका बूढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको चदारो व्यवसाय हराउने अवस्थामा पुगेको हो । सीप भएका पुर्खाको अन्त्यसँगै चदारो व्यवसाय लोप हुने खतरा देखिएको छ । 

 

हिजोआज चदारोको उद्योग चलाउने सीप भएका व्यक्ति दुर्लभ बन्दै गएको छ । हाल चदराको काम गर्दै एक ठाउँबाट अर्को ठाउँ पुग्ने व्यवसायीले सो व्यवसाय टिकाइरहेका छन् । 

 

चदरासम्बन्धी सीप भएका कोही पनि व्यक्ति बाँकी नरहेको नेर्पा र दिक्तेलको सिमानामा पर्ने मेवा खोलामा चदराको अस्थायी उद्योग खोलेका उदयपुर बेलका नगरपालिका ठोक्सिलाका लोकिन्द्र विक बताउँछन् । 

 

५१ वर्षीय विकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ६ नेर्पा र वडा नम्बर १ दिक्तेलको सिमानामा पर्ने खोलामा ३ साताअघि आएर चदराको अस्थायी उद्योग चलाएका हुन् । 


चदरा व्यवसायीले खोला किनारमा खोलाको पानीले मोटर घुमाएर काठका ठेकाठेकी, कठुवालगायतका भाँडाकुँडा बनाउने गरेका छन् । कतिपय स्थानीयले काठका सामान बनाउन चदरा व्यवसायीलाई आफ्नै गाउँ बोलाउँछन् । बोलाइएको ठाउँमा पुगेर चदरा व्यवसायीले दार, सिरिस, पैयुँ, पहेँलेलगायतका कमलो काठका मुढालाई आकर्षक भाँडाकुँडाको रूप दिने गरेका छन् ।


भाँडाकुँडा बनाउने उपकरणसहित विभिन्न ठाउँमा पुग्ने चदरा व्यवसायी खोला किनारमा बसेर उपकरण जडान गर्छन् । उपकरण जडान गरेकै ठाउँमा स्थानीय कच्चा काठ बोकेर भाँडाकुँडा बनाउन पुग्ने गरेको नगरपालिकाको वडा नम्बर १ दिक्तेलका स्थानीय षडानन्द आचार्य बताउँछन् ।

 
श्रम गरेअनुसार पारिश्रमिक हात नलागेका कारण पनि चदरा व्यवसायले लय समात्न नसकेको हो । अर्काेतर्फ पुर्ख्याैली उद्योग चदरा व्यवसायको व्यावसायिकीकरणमा स्थानीय सरकारको चासो नपुग्नु पनि व्यवसाय उँभो लाग्न नसक्नुको अर्को कारण हो । सोही कारण चदराको काम गर्ने सीप भएका व्यक्ति १-२ मात्र भेटिन्छन् । 

 

पछिल्लो समय काठका भाँडाकुँडाप्रति सर्वसाधारणले पनि चासो कम राख्न थालेको नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए । 

 

गाउँघरमा कतिपय खाद्यवस्तु काठको भाँडामा राख्नु स्वास्थ्यका दृष्टिले उपयुक्त पनि मानिन्छ । सोही कारण धातु तथा रबरका भाँडाकुँडाको सट्टा काठको सामान प्रयोग गर्ने स्थानीय उत्तिकै छन् । 

 

बढीजसो दूध-दहीको परिकार राख्ने ठेकी, दुधेरी तथा रक्सी दिन भाँडाका रूपमा प्रयोग गरिने कठुवा खपत हुने गरेको छ ।

 
लोकिन्द्र वर्षमा एक पटक खोटाङका विभिन्न ठाउँमा चदारोको कामका लागि डुल्ने गरेका छन् । चदारो व्यवसायबाट मासिक २० हजार रुपैयाँ हाराहारी आम्दानी हुने गरेको उनले सुनाए ।

 

चदराको कामकै लागि उनी खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम पुगिसकेका छन् । एक पाथी अट्ने ठेकी बनाएबापत उनले ५ सय रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । 

 

त्यसभन्दा सानो आकारका कठुवा, कुरुवा, हर्पेलगायतका सामान बनाएबापत २ सयदेखि साढे २ सय रुपैयाँ लिने गरेका छन् । लोकिन्द्रले जिल्लाकै दोर्पाचिउरीडाँडा, पाथेका, खार्ताम्छा, दिप्लुङलगायत ठाउँमा पुगेर चदराको काम गर्दै आएका छन् । फूलदानी, वान गिलाससमेत बनाउने गरेको उनले बताए ।

 
बोलाइएको ठाउँमा चदरा व्यवसायी महिना दिनदेखि २/३ महिनासम्म बस्छन् भने कतिपय ठाउँ पुग्न भ्याउँदैनन् । उनीहरूले घरमा प्रयोग गरिने सजावटका सामान पनि तयार पार्ने गरेका छन् ।