close

सिरिजंघाको हिउँदे अधिवेशन: मिनरल वाटर उद्योगका लागि डिपिआरको टुंगो

सिरिजंघाको हिउँदे अधिवेशन: मिनरल वाटर उद्योगका लागि डिपिआरको टुंगो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको नियमित गाउँसभा तथा आठौँ अधिवेशनले कञ्चनजंघाको पानी अन्तर्राष्ट्रिय बजार पुर्‍याउन पालिकाकै स्वामित्वमा उद्योग सञ्चालन गर्ने गरी त्यसको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसहित ५ वटा निर्णय लिएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार नियमित गाउँसभाले पालिकाकै स्वामित्वमा मिनरल वाटर उद्योग स्थापनालाई कार्यान्वयनमा लैजान यसै आर्थिक वर्षभित्र डिपिआर तयार गर्ने निर्णय लिएको छ । 

 

यसअघि कञ्चनजंघाको पानी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मिनरल उद्योग स्थापनाका लागि प्रारम्भिक सम्भाव्यता अध्ययनको कामसमेत भएको छ । 

 

३ सदस्यीय विज्ञ टोलीबाट भएको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनको नतिजासमेत यसै साता सार्वजनिक गर्ने तयारी छ । 

 

गाउँसभाले प्रस्तावित १० शय्याको तेल्लोक आधारभूत अस्पताल, गाउँ कार्यपालिकाको कार्यालय र याम्फुदिन स्वास्थ्य चौकीका लागि नपुग जग्गा जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा दिई अधिग्रहण गर्नेसमेत निर्णय लिएको छ ।

 

यस्तै, वडा नम्बर १ सिनाम, वडा नम्बर ४ तेल्लोक र वडा नम्बर ८ याम्फुदिनको वडा कार्यालयको प्रशासकीय भवन १ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाउने निर्णयसमेत गाउँसभाले गरेको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार सिरिजंघा र सिदिङ्वा गाउँपालिकाको सीमामा रहेको (बाँकेटार) तावाखोलामा यसै आर्थिक वर्षदेखि निर्माण अघि बढाउने गरी मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय पनि भएको छ । 

 

पर्यटन पूर्वाधार निर्माण तथा उपज विकास कार्यक्रममा समावेश वडा नम्बर ८ याम्फुदिनको आम्जी खोलाबाट नयाँ झोरेनी, तुप्लुङ, दुन्दुडाँडा, नगर्चा, चाइराम हुँदै कञ्चनजंघा आधारशिविरसम्म जाने पदमार्ग निर्माण आयोजनासमेत अघि बढाउने गाउँसभाले निर्णय लिएको छ । 

 

संघीय सरकारको लागत साझेदारी कार्यक्रमबाट निर्माण हुने गरी पर्यटन मन्त्रालयले स्वीकृत गरेको यो पदमार्ग निर्माणका लागि संघले ३ करोड ५० लाख र गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछन् ।

 

गाउँसभाले चालू आवका लागि सञ्चालित केही आयोजना तथा कार्यक्रममा संशोधनसमेत गरेको छ । गाउँसभाले पालिकाको विनियोजन ऐन, २०७७ (पहिलो संशोधन) सर्वसाधारणको जानकारीका लागि केही दिनमा सार्वजनिक गर्ने निर्णय लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।