close

माण्डवीमा बन्यो आधुनिक चिस्यान केन्द्र 

माण्डवीमा बन्यो आधुनिक चिस्यान केन्द्र 

Trulli
ADVERTISEMENT

प्यूठान- प्यूठानको माण्डवी गाउँपालिकाको देवीस्थानमा चिस्यान केन्द्र निर्माण गरिएको छ । माण्डवी गाउँपालिका वडा नम्बर ३ स्थित देवीस्थानमा चिस्यान केन्द्र निर्माण भएको हो । 

 

करिब १ करोड १२ लाख ५८ हजार ८ सय १८ रुपैयाँ लागतमा चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानको उब्जनी संरक्षण गर्न चिस्यान केन्द्र निर्माण गरिएको उनको भनाइ छ ।

 

प्युठानकै पहिलो चिस्यान केन्द्र निर्माण गरिएकाले माण्डवीबासीलाई कृषि उत्पादन बढाउन र स्वरोजगार बन्न उनले सुझाए ।

 

लुम्बिनी प्रदेश सरकार र माण्डवी गाउँपालिकाको साझेदारीमा नवनिर्मित चिस्यान केन्द्रको बुधबार उद्घाटन गरियो । केन्द्रको लुम्बिनी प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले उद्घाटन गरे । ‘हरेक काममा माण्डवी गाउँपालिका अगाडि छ,’ रिजालले भने, ‘गाउँबासीले सही नेतृत्व चुनेकाले विकासका क्षेत्रमा परिवर्तन आएको देख्न पाएका छन् ।’ 


सरकारले कृषि उत्पादन बढाउन बढीभन्दा बढी लगानी गरिरहेको उनको भनाइ छ । प्युठानका बाँझो जमिनलाई कृषि उत्पादनमा परिणत गरी किसानलाई कृषि व्यवसायमा जोड्नुपर्ने उनको तर्क छ ।

 

जिल्लामा चिस्यान केन्द्र नहुँदा उत्पादित कृषिजन्य बिउ भैरहवा, दाङ लगेर स्टोर गर्नुपर्ने समस्या अन्त्य भएको छ । ४ कोठे १ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको एउटा कोठामा आलु राखिएको छ भने अरूमा अन्य उत्पादित वस्तु राख्ने गरी निर्माण गरिएको छ । गाउँपालिकाले १ सिजनको प्रतिकेजी ५ रुपैयाँका दरले शुल्क निर्धारण गरेको छ ।