close

घरघरै पुगेर सुत्केरी र बच्चाको स्वास्थ्य जाँच्दै नौगाडका स्वास्थ्यकर्मी

घरघरै पुगेर सुत्केरी र बच्चाको स्वास्थ्य जाँच्दै नौगाडका स्वास्थ्यकर्मी

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिकाका स्वास्थ्यकर्मीले घरघरमै पुगेर सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य चेकजाँच अभियान थालेका छन् । सुत्केरी तथा नवजात शिशुको अवस्थाबारे स्वास्थ्यकर्मीले घरघरमै पुगेर चेकजाँच गर्न थालेका हुन् ।


सुरक्षित प्रसूति केन्द्रमा बच्चा जन्माएका आमाहरूको सुत्केरी भइसकेपछिको अवस्था र तिनको स्वास्थ्यबारे जानकारी लिन घरदैलो अभियान चलाइएको खार स्वास्थ्य चौकी इन्चार्ज गोविन्दसिंह ठगुन्नाले जानकारी दिए ।


घरभेट कार्यक्रमले महिला पनि खुसी हुने गरेका छन् । स्वास्थ्यकर्मीले बच्चा पाइसकेको ३ दिन, ७ दिन र ४२ दिनमा घरमा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेका छन् । 


स्वास्थ्य चोकी प्रमुख ठगुन्नाका अनुसार घर भेट कार्यक्रमले मातृमृत्यु दर र नवशिशु मृत्युदर घटाउन सहयोग पुग्नेछ, । उनले भने, ‘विगतमा यस्तो घरदैलो अभियान चलाइएको थिएन् । यस पटकदेखि हरेक सुत्केरी महिलाको घरमा पुगेर बच्चा र आमाको स्वास्थ्यबारे जानकारी लिन थालेका हौँ ।’


बच्चा पाइसकेपछि आमा र नवशिशुको स्वास्थ्यमा समस्या आउन नदिन र उनीहरूलाई समयमै स्वास्थ्योपचार दिलाउने उद्देश्यले घर भेट कार्यक्रम थालिएको हो । बच्चा जन्माइसकेपछि केही आमाहरूमा अत्यधिक रक्तश्राप हुने, बच्चाको स्वास्थ्यमा समस्या देखिने तथा समयमै स्वास्थ्यकर्मीकहाँ नपुग्दा अकालमै ज्यान जाने गरेपछि घर भेट कार्यक्रम थालिएको ठगुन्ना बताउँछन् ।


नौगाड गाउँपालिकाभर २ सय ३ जना सुत्केरी महिला छन् । पालिकाभरका सेवा क्षेत्रका महिलालाई सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मी परिचालन गरेरै स्वास्थ्य चेकजाँच थालिएको छ ।


नौगाडभर साविकका इयरकोट, खार, धुलीगडा र सिप्टी गाविसमा स्वास्थ्य चौकी छन् भने स्थानीय तहको सरकार बनेपछि २ वटा आधारभूत स्वास्थ्य इकाइ, ८ वटा सामुदायिक स्वास्थ्य इकाइ थपिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलकप्रसाद चापागाईंले जानकारी दिए ।


यस्तै, गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा ल्याब र ४ ठाउँमा सुरक्षित प्रसूति केन्द्र (बर्थिङ) सेन्टर स्थापना गरिएको छ ।