close

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ बाटै भेटी दान

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ बाटै भेटी दान

Trulli
ADVERTISEMENT

काठमाडौं- अब पशुपतिनाथ मन्दिरमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । दाताले चढाएको भेटीको दुरुपयोग रोक्न ‘क्यूआर कोर्ड’ लागू गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

 

पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ताचप्पल कक्ष, महास्नान घरअघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिनेछ । 

 

यसका लागि सो स्थानमा यन्त्रसमेत जडान गरिएको कोषका कोषाध्यक्ष मिलन थापाले जानकारी दिए । थापाका अनुसार ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिनेछ ।

 

सो प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना हुँदैन । यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास छ ।

 

कोष र बैंक अफ काठमाण्डुको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका ४ स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्नेसम्बन्धी सम्झौता भएको छ ।

 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताए । 

 

देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए । कोषका सदस्यसचिव डा. प्रदीप ढकालले सामान किनमेल गर्दा पैसा दिने प्रणाली हुँदा कतिपय अवस्थामा पैसा फिर्ता लिन मन नलाग्ने अवस्थाबाट प्रविधिले मुक्ति दिएको बताए ।

 

बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले देशका अन्य मठमन्दिरमा पनि यो सेवा पु¥याइने जानकारी दिए । बैंकले बालाजुस्थित माछापोखरीको तरकारी बजारमा यही प्रणालीबाट भुक्तानी व्यवस्था गर्न लागेको छ ।