close

डलरमा बिक्री भइरहेको कृषि उद्यम

१० वर्ष बहराइनमा, बाँकी जीवन चियामा

डलरमा बिक्री भइरहेको कृषि उद्यम

१० वर्ष बहराइनमा, बाँकी जीवन चियामा

Trulli
ADVERTISEMENT

मोरङ- गाउँमा जन्मिहुर्के पनि, विदेश गएर कमाउने अनि त्यो पैसाले गाउँ छाडेर सहरमा रमाउनेको ताँती कोरोना महामारीमा पनि रोकिएको छैन । वैदेशिक रोजगारीमा गएर फर्केकाहरू धेरैले आफ्नै माटो चिन्न सकेका छैनन् ।

 

तर, मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ का एक जोडी दम्पती भने वैदेशिक रोजगारीमा जाने तन्नेकारीका लागि उदाहरणीय बनेका छन् । 

 

१० वर्ष बहराइनमा पसिना बगाएर स्वदेश भित्र्याएको पैसाले सुखभोग गर्न नारायण राई र उनकी पत्नी खुजुमबिना गाउँ छाडेर सहर पसेनन् । बरु उनीहरू आफू जन्मिहुर्केको गाउँ फर्केर विदेशमा कमाएको पैसा लगानी गरेका छन् । 


नारायणले वैदेशिक रोजगारीमा कमाएको पैसा कृषि उद्यम सञ्चालन गरी नमुना भएका छन् । 


(पानमारा) कालो झारले हरियाली पाखालाई यी दम्पतीले अहिले अर्गानिक चियाले हराभरा बनाएका छन् । ५ रोपनीबाट चिया खेती थालेका नारायणले यसलाई विस्तार गरी ४ सय रोपनीमा पुर्‍याएका छन् । ‘२ हजार रोपनीसम्म चिया खेती विस्तार गर्ने योजना बनाएको छु’, नारायणले भने । 


सानै उमेरमा आमा बितेपछि आफन्तका घरमा बसेर उनले एसएलसीसम्मको पढाइ सकेका थिए । उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएर नारायण २०४४ तिर भारत हानिए । त्यहाँ अर्काको घरमा ३ वर्षसम्म भाडा माझेरै आईटी पढेर केही इलम सिके । 

 

उनले आफ्नो पुर्ख्याैली घरमा आएर घडी, रेडियो बनाउन थाले । रेडियो बनाएर यो रेडियो नेपाल हो नभनेसम्म सुन्ने गरेका थिए । ‘घडी, टिभी, रेडियो बनाउने पेसा फस्टाउँदै थियो’, नारायणले भने, ‘केही साथीभाइहरूसँग मिलेर चिठ्ठा खोल्ने योजना बनायौँ । छिमेकीले प्रहरीलाई उजुरी गरेछन् । मलाई प्रहरीले लग्यो । पछि धरौटीमा छाड्यो ।’ 


आउँदा तिनै उजुर गर्ने छरछिमेकीले ठूलै अपराध गरेजस्तो व्यवहार गरेको उनले सुनाए ।

 

‘म वैदेशिक रोजगारीमा हुँदाहुँदै श्रीमतीले ५ रोपनी जग्गा किनेर चिया खेती सुरु गरेकी थिइन्’, नारायणले भने, ‘स्वदेश फर्किएपछि यो खेतीमा लाग्दा धेरैले मगज खुस्केको पनि भने ।’

 

सुरुमा त उनलाई विदेशमा कमाएको पैसा मजाले सहर बजारमा गतिलो घर बनाएर नबसेर पहाडको डाँडामा फर्केर लगानी गर्दा गाली गर्नेको ताँतीसमेत लाग्यो । तर, आफ्नाे योजनालाई मूर्त रूप दिन उनले ठाउँलाई अर्गानिक चिया खेती गरेरै हरियाली बनाउने अठोट लिए ।

 

सोही योजनाअनुसार पाखोबारीमा चिया खेती लगाए । नारायणले सुरु गरेको चिया बगानलाई ‘मातृभूमि टी स्टिेट प्रालि’ नाम दिएर दर्ता गराएका छन् । 

 

जीवन संगिनी खुजुमबिनाले पनि लोग्नेले कमाएको पैसाले सहरमा बसेर मोज हैन, गाउँमै बसेर सँगै उद्यम गर्नुपर्छ भनेर सघाइरहेकी छन् ।

 

‘सुरु-सुरुमा कृषि कार्यालयका कर्मचारीसमेतले तराईका जिल्लामा चिया खेती गर्दा बालुवामा पानी लगाउनुजस्तै हो भन्थे । यसको खेती नगर्न सल्लाह दिए’, खुजुमबिना लिम्बूले भनिन्, ‘चिया विकास बोर्डले दिएको तालिमका सहभागीलाई खाना, बस्न तथा खाजाको व्यवस्था थियो । तर, मैले खाजा, खाना, बस्नको पैसा तिरेरै तालिम लिएँ ।’

 

नारायण दम्पतीले दैनिक ४० जनालाई रोजगारीसमेत दिइरहेका छन । चिसो हावापानीसँगै लहलहै मौलाउँदै गरेको चिया बोटलाई उनीहरूले आफ्नो सपना बनाएका छन् ।

 

आफूहरूले सुरु गरेको चिया खेती जिल्लाको अन्य छिमेकी गाविसमा पनि विस्तार हुन थालेकाले नारायण दम्पती झनै हौसिएका छन् ।

 

अचेल नारायण दम्पती सिंहदेवीमा रहेको चिया बगान चियाउन आउने स्वदेशी÷विदेशी जोकोहीलाई आफूहरूको पौरखको कथा गर्वसाथ सुनाउँदै भन्ने गर्छन्, ‘उद्यम सुरु गर्दा पहिले गाली पाए पनि पछि ताली पाइँदो रहेछ ।’

 

६ प्रजातिका चिया उत्पादन गर्ने राई दम्पतीको चिया पछिल्लो समय डलरमा किनबेच हुन थालेको छ । आर्गेनिक चियाको जापान, चीन, जर्मन, मलेसिया, इन्डोनेसिया, बेलायत, कोरिया अस्ट्रेलियादेखि दक्षिण अफ्रिका र अमेरिकासम्म बजार छ । 


नारायण दम्पती चिया बगानमा आफैं खटछन् । चियाको पत्ती टिप्ने, रोप्ने र गोडमेल गर्ने बेला गाउँलेलाई रोजगारी दिन्छन् । सिजन नभएका बेला आफैं दुवै खटिन्छन् । उनीहरूको चिया बगान मात्रै होइन, गाई, बाख्रा, लोकल कुखुरासमेत पालेका छन् । गाईको गोबर, मूत्र र गन्धकको समिश्रणबाट प्राकृतिक मल तयार गरी वनस्पतिमा लगाउने गरेका छन् । 

 

पछिल्लो समय राई दम्पतीले किबी खेतीसमेत गर्न थालेका छन् । ६ रोपनीबाट सुरु गरेको किबी खेती ५० रोपनीसम्म पुर्‍याउने लक्ष्यअनुसार यसको नर्सरी राखिएको नारायण सुनाउँछन् । उनीहरूले २०५६ देखि कृषि उद्यम सुरु गरेका हुन् । 

 

अर्गानिक होमस्टे 


नारायणकै पहलमा सिंहदेवीको जेफालेमा सामुदायिक होमस्टेसमेत खोलिएको छ । ९ घरमा रहेको होमस्टेमा नारायणले नै उत्पादन गरेका खानेकुरा खाना पाइन्छन् । 

 

‘होमस्टेमा बस्नेले छानीछानी लोकल कुखुरा, खसी–बोकाको मासु खान पाउँछन्’, खजुमबिनाले भनिन्, ‘हामी आयातीत पेय पदार्थ बेच्दैनौँ । किबी, गुराँस, आरुलगायत ५ प्रजातिका वाइन खुवाउँछौँ । चामल मात्रै किन्नुपर्छ । अन्य हाम्रैमा उत्पादन हुन्छ ।’ 

 

पर्यटकीय गन्तव्य जेफाले आउने पर्यटकले सूर्याेदय हेर्न मात्र होइन, स्थानीय कृषि प्रणाली, आदिवासीको रहनसहन र संस्कृति अध्ययन गर्न पनि सक्छन् ।

 

राई दम्पतीको सोचाइ छ, चिया फार्मको कतै छेउटुप्पोमा ध्यान केन्द्र स्थापना गर्ने । त्यसपछि तराईका सहरमा विरक्तिएको जीवनलाई चिसो र स्वच्छ हावापानी भएको सिंहदेवीमा आएर मानिसले आनन्द लिन सक्नेछन् ।

 

राई दम्पतीको होमस्टेको परिकारको सात समुद्रपारिको अमेरिकासम्म समेत चर्चा चुलिएको छ ।