close

गुल्मीदरबारका ६ जना कर्मचारी पुरस्कृत

गुल्मीदरबारका ६ जना कर्मचारी पुरस्कृत

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको गुल्मीदरबार गाउँपालिकाले साताैँ गाउँसभाको अवसरमा ६ जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाका कर्मचारीमध्येबाट सर्वोत्कृष्ट कर्मचारीको रूपमा स्वास्थ्य शाखाका प्रमुख तथा अधिकृत छैटौँ नारायणप्रसाद अर्याल पुरस्कृत भएका छन् । 

 

उनले गाउँपालिकाको स्वास्थ्य क्षेत्रसँगै समग्र नीति निर्माणमा खेलेको भूमिकाको आधारमा सर्वोत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । 

 

त्यस्तै, प्रशासन शाखा प्रमुख तथा अधिकृत छैटौँ टंकप्रसाद पन्थी, सूचना प्रविधि अधिकृत सुरेश खनाल र कम्प्युटर अपरेटर टुकबहादुर रानालाई उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गरिएको छ । 

 

पन्थी, राना र खनालले गाउँपालिकाको मासिक ई-बुलेटिन प्रकाशन र बेरुजु फर्छ्याेटमा विशेष भूमिका वहन गर्दै आएका छन् ।

 

त्यस्तै, वडा कार्यालयमध्येबाट उत्कृष्ट काम गर्ने गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ गौडाकोटकी वडा सचिव पूर्णिमा घिमिरे पुरस्कृत भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले बताए । 

 

स्वास्थ्य संस्थामध्येबाट समग्र स्वास्थ्य सेवासहित बर्थिङ सेन्टरमा उत्कृष्ट कार्यसम्पादन गर्ने बिरबास स्वास्थ्य चौकी प्रमुख सिनियर अनमी इन्दु घर्ती मगरलाई पुरस्कृत गरिएको छ ।

 

गाउँपालिका प्रमुख अशोककुमार थापा र उपप्रमुख मीना भण्डारीले सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगर ५ हजार रुपैयाँले सम्मान गरेका थिए । सर्वोत्कृष्ट पुरस्कारबाट पुरस्कृत स्वास्थ्य शाखाका प्रमुख तथा अधिकृत छैटौँ नारायणप्रसाद अर्याल गाउँपालिकाको सम्मानले काममा थप उत्साह र आत्मबल प्रदान गरेको प्रतिक्रिया दिए । 


गाउँपालिकाले कार्यसम्पादनमा आधारित कर्मचारी प्रोत्साहन मापदण्ड, २०७७ कार्यविधि निर्माण गरेर कर्मचारीको कार्यसम्पादन मूल्यांकन गरिरहेको छ । गाउँपालिकाले उत्कृष्ट कर्मचारी पुरस्कृत गर्न विभिन्न १० वटा मापदण्ड बनाएको छ । 

 

कर्मचारीलाई तोकिएको जिम्मेवारी पूरा गरे-नगरेको, कार्य विवरणसहितको कार्य सम्पादन सम्झौताअनुसार सम्पन्न भएको कार्यप्रगति, समयको पालना (ई-हाजिरीको अभिलेख), कार्यालयले हासिल गरेको लक्ष्य, अभिलेख व्यवस्थापन, पत्राचार तथा विवरण समयमै पठाउने कार्यलाई मूल्यांकन गरिएको गाउँपालिका प्रमुख अशोककुमार थापाले जानकारी दिए ।

 

त्यस्तै, असल आचरण, अनुशासन, जवाफदेहिता, समस्या समाधान गर्न सक्ने क्षमता पनि मूल्यांकनका मापदण्ड रहेको उनको भनाइ छ । 

 

गाउँपालिकाले मासिक रूपमा कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । मासिक कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नम्बर प्राप्त गर्ने कर्मचारीलाई पनि प्रोत्साहन भत्ताको व्यवस्था छ ।